October 27, 2024, Sunday
KN hd tv

खसी-च्याङ्ग्राको माग अनुमान गर्न कठिन भएको व्यापारीको गुनासो

काठमाडौं-यो वर्ष काठमाडौं उपत्यकामा खसी-बोका र भेडा-च्याङ्ग्राको माग कति भनेर यकिन गर्न कठिन भएको व्यापारीले बताएका छन्।

काठमाडौं महानगरपालिकाको पशु सेवा महाशाखाले कलंकी खसी बजारको निरीक्षण गर्ने क्रममा व्यापारीहरुले बजारमा मासुको माग कति हो भन्ने नै आँकलन गर्न असहज भएको गुनासो गरेका हुन्।

‘हरेक वर्षको दसैंमा कलंकी खसी बजारबाट औसत ५० देखि ६० हजार चौपाया बिक्री हुने गरेको थियो.’महानगरपालिकाको अनुगमन टोलीसँग व्यापारीले भने. ‘महामारीले कति मानिस उपत्यका बाहिर गए? कति जान्छन्? दसैं कसरी मनाउँछन्? भन्न सक्ने अवस्था नभएकाले चौपायाको खरिद बिक्री अनुमान गर्न नसकिने भयो।’

कोभिड-१९ महामारीका कारण यसवर्ष काठमाडौं उपत्यकामा मासुको माग कति हुन्छ भन्ने अन्याेल व्यापारीमा देखिएको हो। 

काठमाडौंको सबैभन्दा ठूलो खसी बजार कलंकीमा छ। यो बजारमा स्टल लिएर खसी बोकाको व्यापार गर्ने २९ जना व्यापारी थिए। तर कोभिड-१९ महामारी पछि १६ जनाले व्यापार छाडिसकेको पनि व्यापारीहरुले बताएका छन। चौपाया खरिद बिक्री प्रालिकाअनुसार यस बजारबाट मासिक औसत ४० हजार चौपाया खरिद बिक्री हुने गरेको छ। काठमाडौं महानगरको कलंकी र टुकुचामा गरी मुख्य २ वटा खसी बजार छन्। यसैगरी दसैंका बेला काठमाडौंकै आकाशेधारा कपन, चाल्नाखेल, चन्द्रागिरी, भक्तपुरको लोकन्थली र सल्लाघारी, ललितपुरको लगनखेलमा पनि चौपाया बजार लाग्ने गरेको छ। 

त्यस्तै, काठमाडौं उपत्यकामा भित्रने पशु चौपायाको स्वास्थ्य जाँचका लागि महानगरबाट ३ वटा टोली परिचालन हुने भएका छन्। ‘मासुजन्य खाद्य उत्पादनलाई स्वस्थ्य, स्वच्छ र गुणस्तरीय बनाउन बजार अनुगमनका लागि हामी ३ टोली खटाउँदै छौं।’ महानगरको पशु सेवा महाशाखाका प्रमुख डा अवधेश झाले भने। 

महानगरपालिकाले डा पूजा खनाल, डा अञ्जिरमान सिंह डंगोल र डम्मरबहादुर बमको नेतृत्वमा ३ वटा टोली बनाएर चौपायाको स्वास्थ्य अनुगमन सुरु गरिसकेको छ। यो अनुगमन टोलीले माछा मासुजन्य खाद्यवस्तु तथा दूध र डेरीजन्य खाद्यवस्तुको नमूना संकलन गर्ने, प्रयोगशालामा परीक्षण गरेर यसको स्वच्छता कायम गराउने लगायतका विषयमा अनुगमन गर्नेछ। 

यसवर्ष च्याङ्ग्राको संख्या घटेकाले मूल्य बढेको छ। चौपाया खरिद बिक्री प्रालिका अध्यक्ष जनककुमार खड्काका अनुसार मुस्ताङमा च्याङ्ग्राको मूल्य जिउँदोमा प्रतिकिलो ७ सय ५० हुँदा पुगेको छ।

शीर्ष समाचार

धेरै पढिएको