एमालेले ईश्वर पोखरेललाई नीति तथा अनुसन्धान प्रतिष्ठानको प्रमुखबाट हटायो

काठमाडौँ : नेकपा एमालेले वरिष्ठ नेता ईश्वर पोखरेलको जिम्मेवारी खोसेको छ। पार्टी सचिवालय बैठकले उनलाई नीति तथा अनुसन्धान प्रतिष्ठानको प्रमुख पदबाट हटाउने निर्णय गरेको हो।

च्यासलमा मंगलबार बसेको सचिवालय बैठकले पोखरेलको स्थानमा विष्णु रिमाललाई प्रतिष्ठानको प्रमुख बनाउने निर्णय गरेको हो। अध्यक्ष केपी शर्मा ओलीले पोखरेलको जिम्मेवारी रिमाललाई दिने प्रस्ताव बैठकमा राखेका थिए।

अध्यक्ष ओलीले विष्णु रिमाल योग्य र सक्षम व्यक्ति भए पनि हालैको निर्वाचनमा पराजित भएकाले उनलाई उपयुक्त जिम्मेवारी दिनुपर्ने बताए। “विष्णु रिमाल राम्रो मान्छे हुन्, चुनाव हार्नुभयो तर त्यसैले जिम्मेवारी नदिन मिल्दैन,” भन्दै उनले प्रस्ताव राखेको बैठक स्रोतले जनाएको छ।

रिमाल एघारौँ महाधिवेशनमा उपमहासचिव पदका उम्मेदवार थिए। उक्त पदमा पराजित भएपछि उनी केन्द्रीय सदस्यमा समेत निर्वाचित हुन सकेनन्। त्यसपछि उनलाई नीति तथा अनुसन्धान प्रतिष्ठानको जिम्मेवारी दिइएको हो।

पोखरेललाई जिम्मेवारीबाट हटाउने प्रस्तावमा केही पदाधिकारीले असहमति जनाएका थिए। उनीहरूले महाधिवेशन भर्खरै सम्पन्न भएको र निर्वाचन नजिकिँदै गएको अवस्थामा पार्टी एकतामा ध्यान दिनुपर्ने भन्दै पोखरेललाई हटाउनु उपयुक्त नहुने धारणा राखेका थिए।

तर अध्यक्ष ओली आफ्नो प्रस्तावमा अडिग रहेपछि अन्ततः पोखरेललाई जिम्मेवारीबाट हटाउने निर्णय भएको हो।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा