काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो समय रास्वपालगायत केही दलहरू एक हुँदै गएकोप्रति टिप्पणी गरेका छन्।
मंगलबार बसेको पार्टी सचिवालय बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले जेनजी आन्दोलनमा संलग्न समूहहरूले देशलाई पुगेको क्षतिको जिम्मेवारी नलिएको आरोप लगाए। उनले एनजिओ–डोनरको एजेन्डा बोकेका तथा राष्ट्रवादी शक्तिलाई बदनाम गर्ने प्रवृत्ति भएका समूहहरू एक ठाउँमा जम्मा हुँदै गएको टिप्पणी गरे।
उनका अनुसार केही व्यक्ति नियतवश विनाशकारी गतिविधिमा संलग्न भएका छन् भने केहीले स्वार्थका कारण ठगी, भ्रष्टाचार र वैदेशिक शक्तिको दलाली गर्दै आएका छन्। विकासको नाममा एनजिओ तथा डोनरको एजेन्डा बोकेर आउने र राष्ट्रवादी शक्तिहरूलाई योजनाबद्ध रूपमा बदनाम गर्ने षड्यन्त्र भइरहेको ओलीको भनाइ थियो।
अध्यक्ष ओलीले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा संलग्न पक्षहरूले त्यसबाट देशलाई पुगेको क्षतिको जिम्मेवारी लिन नसकेको पनि टिप्पणी गरे।

