नीलकण्ठको निःशुल्क शिक्षा प्रशंसनीय : शिक्षा मन्त्री पुन

धादिङ – निःशुल्क शिक्षाबारे देशभर बहस चलिरहेका बेला संघीय सरकारका शिक्षा मन्त्री डा. महाविर पुनले धादिङको नीलकण्ठ नगरपालिकाबाट सिक्न अन्य स्थानीय तहलाई आग्रह गर्नुभएको छ।

बालविकासदेखि कक्षा १२ सम्मको शिक्षा पूर्ण रूपमा निःशुल्क बनाएको नीलकण्ठ नगरपालिकाको प्रशंसा गर्दै मन्त्री पुनले अन्य स्थानीय सरकारले पनि शिक्षामा लगानी बढाउनुपर्ने धारणा व्यक्त गर्नुभएको हो।

सोमबार अपराह्न सामाजिक सञ्जालमार्फत मन्त्री पुनले संविधानले विद्यालय सञ्चालनको अधिकार स्थानीय सरकारलाई दिएको उल्लेख गर्दै नीलकण्ठ नगरपालिकाले जस्तै अन्य स्थानीय तहले पनि शिक्षालाई निःशुल्क बनाउन पहल गर्नुपर्ने बताउनुभयो।

मन्त्री पुनले लेख्नुभएको छ,
“साह्रै राम्रो काम गरेको छ नीलकण्ठ नगरपालिका, धादिङ जिल्ला। पालिकाभित्रका ८७ वटै विद्यालयमा विगत दुई वर्षदेखि परीक्षा शुल्कसमेत नलिई शिक्षा पूर्ण रूपमा निःशुल्क गरिएको छ। कक्षा ९ र १० का प्रत्येक विद्यार्थीका लागि ५ हजार रुपैयाँ र कक्षा ११ र १२ का विद्यार्थीका लागि ९ हजार रुपैयाँका दरले अनुदान प्रदान गरिन्छ।”

शिक्षा मन्त्रीको यो अभिव्यक्तिपछि नीलकण्ठ नगरपालिकाका नगर प्रमुख तथा नेपाल नगरपालिका संघका अध्यक्ष भीमप्रसाद ढुंगानाले शिक्षा क्षेत्रमा जोखिम मोलेर गरिएको प्रयासप्रति संघीय सरकारबाट सकारात्मक प्रतिक्रिया आउनु खुशीको विषय भएको बताउनुभयो।

नगर प्रमुख ढुंगानाका अनुसार नगरपालिकाले कुल बजेटको करिब ४० प्रतिशत हिस्सा शिक्षामा लगानी गर्दै आएको छ। शिक्षाबाट कोही पनि बञ्चित नहोस् र अभिभावकमाथि आर्थिक भार नपरोस् भन्ने उद्देश्यले विद्यार्थी संख्या अनुसार विद्यालयलाई बजेट उपलब्ध गराउँदै आएको उहाँले स्पष्ट पार्नुभयो।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा