October 27, 2024, Sunday
KN hd tv

दसैंपछि मात्रै पिच हुने चाबहिल-गौशाला सडक

काठमाडौं- काठमाडौंको चुच्चेपाटीदेखि गौशालासम्मको सडक दसैंपछि मात्रै पिच हुने भएको छ। यो सडक मर्मतको जिम्मा लिएको कालिका कन्स्ट्रक्सनले दसैंपछि मात्रै आयोजनाको पिचको काम अघि बढाउने भएको हो। 

धोबिखोलादेखि चाबहिल चोक र चुच्चेपाटीबाट चाबहिल चोक हुँदै गौशालासम्म पर्ने सडक स्तरोन्नतिको जिम्मेवारी कालिकाले पाएको थियो। आयोजना क्षेत्रमा पर्ने सडक मर्मत, खानेपानीको पाइप र विद्युतको तारसमेत अन्डरग्राउन्ड गर्ने गरी उसले ठेक्का लिएको हो। 

यो सडक क्षेत्रमध्ये जयबागेश्वरीदेखि गौशालासम्म पिच गरिएको थियो। त्यो पनि पानीका कारण भत्किन थालिसकेको छ। ‘हामीले पहिले नै पिच गर्ने भनेका थियौँ तर पुराना पानीका पाइप एकपछि अर्को स्थानमा फुट्न थालेपछि समस्या बढ्दै गयो,’ कन्स्ट्रक्सनका निर्देशक निकोलस पाण्डेले भने, ‘मेलम्ची आयोजनाले पाइप फेरि फेर्नुपर्छ भनेका कारण काम नै रोकियो, अहिले धेरै ठाउँमा पाइप बिछ्याइएको छ।’ 

यो क्षेत्रमा दसैं अगाडि बाटो ग्राभेल गर्ने र दसैंलगत्तै पिच गर्ने उनले जानकारी दिए। ‘हामी बिहीबार बेलुकाबाट ग्राभेलको काम थाल्छौँ, दसैं अगाडि आयोजनाको खाल्डाखुल्डी सबै पुरिसक्छौँ,’ उनले भने। पुसदेखि सडक स्तरोन्नति थालिएकोमा विश्वव्यापी रूपमा फैलिएको कोरोना संक्रमणका कारण चैत ११ देखि भएको लकडाउनले निर्माण रोकिएको थियो। 

५० वर्षअघि बिच्छाइएका पाइप फुटेर हुने समस्याको समाधानका लागि सरकारले दीर्कालीन उपाय खोजी गर्दै पाइप फेर्ने तथा सडक मर्मत गर्ने काम अघि बढाएको थियो। कूल २ हजार एक सय मिटरको यो सडकमा पानीका पाइप र सडक व्यवस्थापनको एउटै ठेक्का लगाइएको थियो। सडकको पाइप फेरेर सडक पिच गर्न कालिका कन्स्ट्रक्सन र वेदांशी कन्स्ट्रक्सनले संयुक्त रुपमा ठेक्का पारेका हुन्।

शीर्ष समाचार

धेरै पढिएको