श्रीलंकाली समकक्षीसँग प्रधानमन्त्री कार्कीले भनिन् : कठिन घडिमा तपाइँहरूको साथमा छौँ

काठमाडौं : प्रधानमन्त्री सुशीला कार्की र श्रीलंकाका प्रधानमन्त्री डा. हरिणी अमरसुरियाबीच बुधबार साँझ टेलिफोन वार्ता भएको छ । दुई प्रधानमन्त्रीबीच सवा ८ बजेदेखि करिब ४ मिनेट कुराकानी भएको प्रधानमन्त्री सचिवालयले जनाएको छ।

वार्ताका क्रममा श्रीलंकाली प्रधानमन्त्री अमरसुरियाले नेपालले हालै प्रदान गरेको दुई लाख अमेरिकी डलर बराबरको बाढी राहत सहयोगप्रति कृतज्ञता व्यक्त गरिन्।

‘हामी कहाँ विपद् परेको बेला सहयोग पठाइदिनुभयो, यसका लागि धन्यवाद। हामी आभारी छौं,’ अमरसुरियाले प्रधानमन्त्री कार्कीलाई भनिन्।

जवाफमा प्रधानमन्त्री कार्कीले छिमेकी राष्ट्रका रूपमा आपसी सहयोग कर्तव्य र धर्म नै भएको उल्लेख गरिन्।

‘छिमेकी भएको नाताले समस्यामा परेका बेला एकअर्कालाई साथ दिनुपर्छ। यो कठिन घडीमा हामी तपाईंहरूसँगै छौँ,’ प्रधानमन्त्री कार्कीले बताइन्।

टेलिफोन वार्ताको क्रममा प्रधानमन्त्री कार्कीले नेपालमा जारी जेनजी आन्दोलन र त्यसपछि उत्पन्न समसामयिक राजनीतिक अवस्थाबारे पनि श्रीलंकाली समकक्षीलाई जानकारी गराएकी थिइन्।

श्रीलंका पछिल्ला केही वर्षयताकै सबैभन्दा खराब मौसमी संकटसँग जुधिरहेको छ।

श्रीलंकामा हालै परेको अविरल वर्षापछि बाढीपहिरोबाट ठूलो जनधनको क्षति भएको छ । त्यहाँ कम्तीमा १९३ जनाको मृत्यु भएको छ भने बाढी पहिरोका कारण धेरै क्षेत्रमा सडक सम्पर्क टुटेको छ।

विपद् व्यवस्थापन केन्द्रका अनुसार दुई सयभन्दा बढी मानिस बेपत्ता छन् भने २० हजारभन्दा बढी घर नष्ट भएका छन्। एक लाखभन्दा बढी मानिस सरकारले बनाएको अस्थायी शिविरमा शरण लिएको बताइएको छ।

भारी वर्षा र बाढीका कारण श्रीलंकाको करिब एक तिहाइ भागमा बिजुली र पानीको आपूर्ति ठप्प भएको छ। अधिकारीहरूका अनुसार चक्रवाती आँधी ‘दित्वाह’ का कारण श्रीलंकामा संकटकाल घोषणा गरिएको छ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा