कांग्रेस विशेष महाधिवेशन रोक्ने खड्काको अन्तिम योजना

काठमाडौँ : नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीमा विशेष महाधिवेशन हुने परिस्थिति सिर्जना हुन नदिने बताएका छन्।

शुक्रबार बिहान कांग्रेसभित्रका संस्थापन समूहका २५ केन्द्रीय सदस्यसँग भएको भेटमा खड्काले महाधिवेशन प्रतिनिधिहरूले बुझाएको हस्ताक्षर अनुरूप विशेष महाधिवेशनको प्रक्रिया अघि बढ्ने वातावरण आफूले बनाउन नदिने स्पष्ट पारेका हुन् ।

भेटमा सहभागी केन्द्रीय सदस्य उदय शमशेर राणाले खड्काले महाधिवेशन प्रतिनिधिको हस्ताक्षर भेरिफिकेसन गरेर विशेष महाधिवेशन हुने अवस्था आउन नदिने कार्यवाहक सभापति खड्काले बताएको जानकारी दिए ।

संस्थापन समूहका २५ केन्द्रीय सदस्यले केही दिनअघि पार्टी केन्द्रीय कार्यालयमा ७ बुँदे माग दर्ता गराएका थिए । ती मागहरूको दबाब वृद्धिका लागि उनीहरू हाल सभापतिदेखि पदाधिकारीहरूसम्म भेटघाटमा छन् । यही क्रममा उनीहरूले शुक्रबार बिहान खड्कालाई भेटेर विशेष महाधिवेशन सुरु भए पार्टी फुटतर्फ धकेलिन सक्ने चेतावनी दिएका थिए ।

राणाका अनुसार खड्काले पार्टीलाई फुटको अवस्थासम्म पुर्‍याउन नदिने दृढता व्यक्त गरेका छन् । महाधिवेशन कहिले गर्ने भन्ने विवाद टुङ्ग्याउन उनीहरूले १५औँ महाधिवेशनको प्रक्रिया मङ्सिरदेखि सुरु गरी पुस मसान्तभित्र सम्पन्न गर्नुपर्ने प्रस्ताव खड्कालाई बुझाएका छन् । यही प्रस्ताव राखेपछि खड्काले विशेष महाधिवेशन नहुने संकेत गरेको राणाले बताए।

खड्कासँग भेटेपछि उनीहरूले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग पनि संयुक्त भेटवार्ता गरेका थिए।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा