सहमतिको खोजीमा फेरि सर्‍यो कांग्रेस बैठक

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक फेरि सरेको छ । आज (मंसिर ४) का लागि बोलाइएको बैठक शनिबारका लागि सरेको हो ।

मुख्य सचिव कृष्णप्रसाद पौडेलले बिहीबार सूचना प्रकाशित गरी अब बैठक शनिबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने जानकारी दिए ।

यसअघि कांग्रेसले ३० कात्तिकमा सूचना जारी गरेर १ मंसिरका लागि बोलाइएको बैठक स्थगित गरेर आजका लागि बोलाएको थियो ।
गत २८ असोजबाट सुरू भएको बैठकमा गत कात्तिक २७ गतेसम्म नेताहरूले धारणा राख्ने क्रम सकिएको थियो । त्यसपछि कात्तिक २९ गते र मंसिर १ गते बस्ने भनिएका बैठक स्थगित गरेर मंसिर ४ गतेका लागि निर्धारण गरिएको थियो ।

बैठकमा पार्टीको विशेष महाधिवेशन वा नियमित महाधिवेशन भन्नेमा बहस हुँदै आएको छ । विशेष महाधिवेशनका लागि हस्ताक्षर संकलन समेत भइसकेको अवस्थामा संस्थापनपक्षका नेताहरू भने चुनावपछि नै नियमित महाधिवेशन गर्नुपर्ने अडानमा छन् ।

पार्टीका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा चुनावअघि नै विशेष महाधिवेशन गर्नुपर्ने अडानमा छन् भने कार्यवाहक सभापति पूर्णबहादुर खड्कालगायत संस्थापन पक्षीय नेताहरू चुनावपछि मात्रै महाधिवेशन गर्ने गरी कार्यतालिका ल्याउने प्रयासमा छन् ।

लामो उपचारपछि सिंगापुरबाट हालै फर्केका सभापति शेरबहादुर देउवा चुनावअघि नियमित महाधिवेशनको कार्यतालिका ल्याउनेगरी मनाउन सक्रिय छन् ।

जारी बैठकले १५ औं महाधिवेशन र प्रतिनिधि सभा निर्वाचनका सन्दर्भमा निर्णय लिने अपेक्षा छ ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा