गभर्नर नियुक्तिका लागि अर्थमन्त्री पौडेलद्वारा सिफारिस समिति बैठक आह्वान

काठमाडौं । गभर्नर नियुक्तिका लागि प्रक्रिया अघि बढाउन अर्थमन्त्री विष्णु पौडेलले सिफारिस समितिको बैठक बोलाएका छन्। प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच गभर्नरबारे सहमति बनेपछि आज पहिलो पटक अर्थमन्त्री पौडेलले बैठक आह्वान गरेका हुन्।

सिफारिस समितिमा पूर्व गभर्नर महाप्रसाद अधिकारी र अर्थशास्त्री डा. पोषराज पाण्डे सदस्य रहेका छन्। केही समयअघि अर्थ मन्त्रालयबाट समितिका सदस्यहरूलाई बैठकका लागि निम्तो पठाइएको जानकारी समितिका एक सदस्यले दिएका छन्।

यसअघि देउवाले गभर्नरका लागि योजना आयोगका पूर्व उपाध्यक्ष डा. विश्व पौडेलको नाम प्रस्ताव गरेका थिए। आजको बैठकमा सोही नाममा छलफल गरेर सम्भवतः आजै सिफारिस गर्ने तयारी छ।

गएको सोमबार साँझ प्रधानमन्त्री ओलीले देउवालाई छलफलका लागि बोलाएका थिए। सुरुवाती असहमति र चिसिएको सम्बन्धबीच देउवा रिसाउँदै बालुवाटार नजाने योजना बनाएका थिए। तर, प्रधानमन्त्रीले संसदको कार्यक्रम रोकेर देउवालाई बोलाएपछि अन्ततः भेटवार्ता भएको हो।

ओली–देउवा भेटमा अर्थमन्त्री विष्णु पौडेल र गृहमन्त्री रमेश लेखक पनि सहभागी थिए। सोही छलफलपछि अर्थमन्त्रीले सिफारिस समितिका सदस्यहरूलाई मन्त्रालय बोलाएका हुन्। अबको केही समयभित्रै बैठक बस्ने तयारी छ र सम्भवत: आजै मन्त्रिपरिषद् बैठक बसेर गभर्नर नियुक्ति टुंग्याउने सरकारको योजना रहेको बताइएको छ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा