काठमाडौं, चैत २६ – काठमाडौं तीनकुनेमा चैत १५ गते राजावादी समूहले गरेको हिंसात्मक प्रदर्शनका क्रममा ज्यान गुमाएका दुई युवाका परिवारलाई भाटभटेनी सुपरमार्केट्सले आर्थिक सहयोग प्रदान गरेको छ।
भाटभटेनीका अध्यक्ष मिनबहादुर गुरुङले मृतकका परिवारलाई भेट गरी चेक हस्तान्तरण गरेका हुन्। उनले एभिन्युज टिभीका पत्रकार सुरेश रजककी श्रीमती सुजेन रजकलाई ताहाचलस्थित निवासमै पुगेर पाँच लाख रुपैयाँको चेक प्रदान गरे।
त्यसैगरी, कीर्तिपुरका सविन महर्जनको परिवारलाई तीन लाख रुपैयाँ सहयोग गरिएको छ। गुरुङले सविनकी श्रीमती भविसा महर्जनलाई तीन लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गर्दै, भाटभटेनीमा जागिरको व्यवस्था गरिदिने प्रतिवद्धता पनि जनाए।
गुरुङले उक्त दिन अराजक समूहले भाटभटेनी स्टोरमा समेत क्षति पुर्याएको उल्लेख गर्दै, दुःखको घडीमा परिवारको साथ दिनु आफ्नो सामाजिक दायित्व भएको बताए।


