प्रचण्ड : नेपाली महिलाको संघर्ष विश्वकै प्रेरणाको स्रोत

बाँके । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली महिलाले गरेको बलिदानीपूर्ण आन्दोलनले नेपाल मात्र नभई विश्व राजनीतिमा पनि प्रेरणा प्रदान गरेको बताएका छन् ।

अनेमसंघ क्रान्तिकारी लुम्बिनीको दोस्रो प्रदेश सम्मेलन उद्घाटन गर्दै उनले जनयुद्धका क्रममा महिलाको सहभागिता निर्णायक रहेको स्मरण गरे । अध्यक्ष प्रचण्डले भने, “नेपाली महिलाको बलिदान संसारभरिका महिलाहरूका लागि प्रेरणा र उर्जाको स्रोत बनेको छ ।”

उनले जनमुक्ति सेनामा झन्डै ४० प्रतिशत महिला लडाकु रहेको उल्लेख गर्दै महिला कमाण्डरहरूले नेतृत्व गरेका लडाइँहरू जितिएको दाबी गरे । “हिजो क्रान्ति जोगाएका महिलाहरूले अब समाजवादी क्रान्तिको नेतृत्व गर्ने बेला आएको छ,” उनले भने ।

राजनीतिक परिवर्तनमा महिलाहरूको योगदान उल्लेखनीय रहेको बताउँदै उनले अहिलेको संविधानले दिएको ३३ प्रतिशत महिला सहभागिता सहजै प्राप्त नभएको उल्लेख गरे । “महिलाहरू चुलो चौकाबाट निस्केर बन्दुक बोकेर युद्ध मोर्चामा नगएको भए आजको परिवर्तन सम्भव थिएन,” उनले थपे ।

पछिल्ला आठ–दश वर्षमा पार्टीले वर्गीय सम्बन्ध कायम राख्न कमजोरी गरेको स्वीकार्दै उनले सरकारमा रहँदा रुपान्तरणको अभियान थालेको बताए । “दलाल र बिचौलियाहरू आतंकित भएकाले नै हाम्रो सरकार ढालियो,” उनले दाबी गरे ।

सरकारले बेथिति बढाएको आरोप लगाउँदै उनले विद्युत प्राधिकरण, त्रिभुवन विश्वविद्यालय, राष्ट्र बैंकजस्ता संस्थाहरूमा हस्तक्षेप भइरहेको बताए । “सरकारको जग नै गलत भएकाले झनै बढी गलत निर्णय गर्दै जाने खतरा छ,” उनले भने । पार्टीले खबरदारी अभियान थालेको उल्लेख गर्दै अब आफ्नै वर्ग र समुदायमा फर्केर एक्लै निर्वाचन लड्ने संकल्प लिएको प्रचण्डले जानकारी दिए ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा