प्रधानमन्त्री ओली थाइल्याण्डमा, उच्चस्तरीय भेटवार्ता आज

काठमाडौं । थाइल्याण्डको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली बैंकक पुगेका छन्। बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडी प्रयास (बिमस्टेक) को छैटौं शिखर सम्मेलनमा सहभागी हुन उनी हिजो त्यसतर्फ प्रस्थान गरेका थिए।

आज प्रधानमन्त्री ओली र थाई समकक्षी पे थोङ्थान् शिनावात्राबीच उच्चस्तरीय भेटवार्ता हुनेछ। भेटवार्ताअघि प्रधानमन्त्री ओली समकक्षी शिनावात्राले आयोजना गरेको स्वागत समारोहमा सहभागी भएका छन्।

थाइल्याण्डका प्रधानमन्त्रीको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओलीको यो पहिलो औपचारिक भ्रमण हो। यस भ्रमणले दुई देशबीचको आपसी सम्बन्ध मजबुत बनाउन र सहकार्यलाई विस्तार गर्न मद्दत गर्ने अपेक्षा गरिएको छ। परराष्ट्र मन्त्रालयका अनुसार भेटवार्तापछि संस्कृति तथा पर्यटन क्षेत्रको सहकार्यसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर हुनेछ।

त्यसैगरी, दुई देशका गैरसरकारी तथा व्यावसायिक संस्थाबीच छवटा सहमतिपत्र आदानप्रदान हुनेछ। सम्झौतापछि दुवै प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गर्नेछन्। त्यसपछि प्रधानमन्त्री ओली आफ्नो सम्मानमा आयोजित दिवा भोजमा सहभागी हुने कार्यक्रम छ।

प्रधानमन्त्री ओलीले आजै थाइल्याण्डका राजा महा बजिरालोङ्कर्नसँग शिष्टाचार भेट गर्नेछन्। उनी पर्सि २२ गते बिमस्टेक शिखर सम्मेलनमा सहभागी भई सम्बोधन गर्नेछन् भने २३ गते स्वदेश फर्किनेछन्।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा