काठमाडौं । राजसंस्था पुनःस्थापना, हिन्दू राष्ट्र घोषणा र संघीयता खारेजीको मागसहित भोलि (शुक्रबार) काठमाडौंमा हुने जनप्रदर्शनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सहभागी हुने भएको छ।
पार्टीका प्रवक्ता मोहन श्रेष्ठले विज्ञप्ति जारी गर्दै पार्टीका कार्यकर्ता र आम नागरिकलाई प्रदर्शनमा सक्रिय सहभागिताको अपिल गरेका छन्। विज्ञप्तिमा भनिएको छ, “चैत १५ गते तिनकुनेमा आयोजना हुने प्रदर्शनमा उपस्थित भई आन्दोलनलाई सफल बनाउने हार्दिक अनुरोध गर्दछौं।”
यस्तै, प्रवक्ता श्रेष्ठले राप्रपाको नक्कली लेटरप्याड प्रयोग गरेर आन्दोलन स्थगित भएको भनी भ्रम फैलाइएको दाबी गरेका छन्। उनले यस्ता भ्रामक गतिविधिको भर्त्सना गर्दै सो प्रचारमा नपर्न सबैलाई आग्रह गरेका छन्। साथै, समान विचारधाराका सबै पक्षसँग सहकार्य र मोर्चा बनाउँदै आन्दोलन अघि बढाउने पार्टीको प्रतिवद्धता विज्ञप्तिमा उल्लेख गरिएको छ।

