काठमाडौँ – अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले एलन मस्कको समर्थन गर्दै टेस्लाको रातो कार खरिद गरेका छन्। सामाजिक सञ्जालमार्फत मस्कलाई समर्थन गर्ने घोषणा गरेका ट्रम्पले मंगलबार ह्वाइट हाउस बाहिर टेस्लाका गाडीहरू परीक्षण गरेका थिए, जसमा साइबर ट्रक समेत थियो। उनले अन्ततः रातो कार रोजेका हुन्।
ट्रम्पले मस्कको प्रशंसा गर्दै उनलाई असल व्यक्ति र देशभक्त भनेका छन्। “जब मैले मस्क र उनको कम्पनीलाई लक्षित गरिएको देखें, मैले टेस्ला कार किन्ने निर्णय गरें,” ट्रम्पले मिडियासँग भने। डेमोक्रेट समर्थकहरूले अमेरिकामा टेस्ला बहिस्कारको अभियान थालेपछि ट्रम्प मस्कको पक्षमा उभिएका हुन्।
ट्रम्पको यो निर्णय टेस्लाको शेयरमा तीव्र गिरावट आइरहेको समयमा आएको हो। राष्ट्रपति चुनावमा मस्कले ट्रम्पलाई खुलेर समर्थन गरेपछि संघीय सरकारी खर्च कटौती र जागिर कटौतीको विषयमा उनी आलोचित भएका छन्। हालै टेस्लाका कार, शोरूम र चार्जिङ स्टेसनहरू तोडफोडको निशानामा परेका छन्। ट्रम्पले मस्कमाथि अन्याय भइरहेको बताउँदै उनलाई समर्थन गर्न आग्रह गरेका छन्।
