मुस्ताङ – हरेक वर्ष कालीगण्डकी नदीले जोमसोम बजार कटान गर्न थालेपछि तटबन्ध निर्माण थालिएको छ। संघीय सरकारअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागको अगुवाइमा ‘जोमसोम बजार संरक्षण योजना’ अन्तर्गत नदी नियन्त्रण कार्य अघि बढाइएको हो।
योजनाअन्तर्गत घरपझोङ गाउँपालिका–४ काठेपुलदेखि जिल्ला प्रशासन कार्यालय र नेपाली सेनाको क्याम्पसम्म आरसिसीयुक्त ‘ग्यावियन वाल’, ‘पल्म कंक्रिट वाल’ र तटबन्धको बेस निर्माण भइरहेको छ। निर्माण कम्पनीका प्रमुख प्रतिनिधि शिवकुमार श्रेष्ठका अनुसार हालसम्म ५५ प्रतिशत भौतिक र ४२ प्रतिशत वित्तीय प्रगति भइसकेको छ।
कालीगण्डकीको कटान र बढ्दो नदी उकासका कारण मुस्ताङको छुसाङदेखि थासाङ गाउँपालिकाको लेतेसम्मका १३ गाउँ जोखिममा परेका छन्। संघीय तथा प्रदेश सरकारले विभिन्न चरणमा यी क्षेत्रको नदी नियन्त्रणका लागि प्रयास जारी राखेको छ।
