मुगु – जडीबुटीको खानी मानिने कर्णाली प्रदेशका विभिन्न जिल्लामा पाइने बहुमूल्य जडीबुटी पछिल्ला वर्षहरूमा घट्दै गएका छन्। कर्णालीका १० वटै जिल्लामा ५ हजारभन्दा बढी प्रजातिका जडीबुटी पाइने भए पनि मुगु, हुम्ला, कालीकोट, जुम्ला, डोल्पा, जाजरकोट, रुकुम लगायतका जिल्लामा जडीबुटीको संख्या कम हुँदै गएको छ।
यार्सागुम्बा, टिमुर, सतुवा, चिराइतो, जटामसी, अतिस, बोजो, घुच्चीच्याउ, सुगन्धवाल, सेतकचीनी, वन लसुन, कालादान, जिम्बु लगायतका जडीबुटी जलवायु परिवर्तन, आगलागी, अत्यधिक दोहन, चोरी निकासी, विकास निर्माण, अज्ञात संकलन, र खुला चरिचरनका कारण लोप हुने अवस्थामा पुगेका छन्।
तर, जडीबुटी संरक्षणमा स्थानीय सरकार र डिभिजन वन कार्यालयले कुनै ठोस पहल नगरेको गुनासो स्थानीयको छ। डिभिजन वन कार्यालय मुगुले जडीबुटी संकलनका लागि अनुमति दिने गरे पनि वन क्षेत्रमा पछिल्लो उत्पादनको अवस्था बुझ्न चासो नदिएको आरोप लागेको छ।
अहिले घर नजिक पाइने जडीबुटीहरू हराउँदै गएको र अहिले कम्तीमा एक दिन हिँडेर मात्र जडीबुटी भेटिने गरेको छायाँनाथ रारा नगरपालिका–१४ बामका रत्न बढुवाल बताउँछन्। नेपाल सरकारको प्राथमिकतामा परेका ३३ प्रजातिका जडीबुटीमध्ये कर्णालीमा २७ प्रजाति पाइन्छन् भने मुगुबाट मात्रै वार्षिक २४ देखि ३० प्रकारका जडीबुटीको व्यापार हुने गरेको छ।
डिभिजन वन कार्यालय मुगुका प्रमुख जितेन्द्र महतका अनुसार जडीबुटी संकलनका लागि निश्चित योजना अनुरूप अनुमति दिइने तथा सरोकारवालासँग सहकार्य गर्दै वनजंगल र वन्यजन्तु संरक्षणको कार्य जारी रहेको छ।
