May 28, 2022, Saturday
२०७९ जेष्ठ १४, शनिबार
KN hd tv

महानगर छाडेसँगै पोखरामा कांग्रस नेताहरु असन्तुष्ट, कास्की जिल्ला कार्यालयमा तालाबन्दी

काठमाडौं- गठबन्धनले महानगरपालिकाहरुको भागबण्डा टुंग्याएसँगै सत्ताको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसमा असन्तुष्टि बढेको छ। 

मंगलबार मध्यरातमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले महानगरपालिकाहरुको भागबण्डा मिलाएको थियो। जसअनुसार कांग्रेसले वीरगञ्ज, भरतपुर र पोखरा महानगर छाडेको छ।

महानगर छाडेसँगै पोखरामा कांग्रस नेताहरु असन्तुष्ट बनेका छन्। असन्तुष्ट पोखरा महानगर कार्य समितिले पार्टीको कास्की जिल्ला कार्यसमितिको कार्यालयमा तालाबन्दी गरेको छ।

प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले गण्डकी प्रदेश सभापति र कास्की सभापतिलाई समेत किनाराको साक्षी राख्दै एकीकृत समाजवादीलाई पोखरा महागरपालिकाको मेयर पदमा प्रस्ताव गरेको समाचारहरु बाहिरिएको भन्दै पोखरा महानगर समितिले आपत्ति जनाउँदै पार्टी कार्यालयमा तालाबन्दी गरेको हो।  

पोखरा महानगर कार्यसमितिका सचिवद्वय गणेश बहादुर थापा र टुवराज वास्तोलाले बुधबार एक विज्ञप्ति जारी गर्दै महानगर एकीकृत समाजवादीलाई दिने निर्णयले पार्टी नेता कार्यकर्ताको आत्मसम्मानमा गम्भिर चोट लागेको उल्लेख गरेका छन्। 

गठबन्धनको यस्तो गैह्र जिम्मेवार निर्णयले पोखरा महानगरपालिका कार्य समिति उपेक्षित भएको महसुस गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ। 

‘जब कि हामी कांग्रेसको विधानसम्मत तरिकाले पोखरा महानगरको मेयर र उपमेयर पदको आकांक्षी उम्मेलदवार छनौट प्रक्रियामा रहेको अवस्थामा आम लोकतन्त्रवादी शुभेच्छुक जनमानस, वुद्धिजीवी वर्ग, जिल्ला, महानगर, वडा एवं टोल कार्य समितिमा आवद्ध नेपाली कांग्रेसका पहरेदार सिपाहीहरुको आत्म सम्मानमा गम्भिर चोट लागेको छ’ विज्ञप्तिमा भनिकएको छ। 

समितिले आगामी दिनहरुमा अपनाइने संघर्षका कार्यक्रमहरुमा आम सहमति रहने अपेक्षा गर्दै जिल्ला कार्यसमिति एवं गण्डकी प्रदेश समितिलाई ध्यानाकर्षण पत्र पेस गरेको छ। 

यसअघि मंगलबार प्रधानमन्त्री देउवाले कास्की कांग्रसका नेताहरुलाई बालुवाटार बोलाएर गठबन्धन टिकाउन पोखरा छाड्नु पर्ने भन्दै आफ्नो बाध्यता बुझिदिन आग्रह गरेका थिए। 

कास्की कांग्रेसले कांग्रेस बाहेकले नेतृत्व पाउँदा पोखरा गठबन्धनले नजित्ने दाबी गर्दै आएको छ।

शीर्ष समाचार

धेरै पढिएको