October 21, 2026, Wednesday
KN hd tv

भ्रष्टाचार र कुशासनरूपी आसुरी प्रवृत्ति अन्त्य गर्न एकजुट बनौँ: प्रधानमन्त्री बालेन्द्र शाह

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले नागरिकमा परिवर्तनको अनुभूति दिलाउन सोच र चिन्तनसँगै व्यावहारिक आचरणमा रूपान्तरण ल्याउनुपर्ने बताएका छन् । बडादसैँअन्तर्गत विजयादशमीको पावन अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्रीले सुशासन र समृद्धिका लागि सामूहिक अग्रसरताको आवश्यकता औँल्याएका हुन् ।

आफ्नो शुभकामना सन्देशमा प्रधानमन्त्री शाहले वर्तमान समयमा भ्रष्टाचार, ढिलासुस्ती, विभेद र राजनीतिक विकृति नै मुख्य आसुरी प्रवृत्तिका रूपमा रहेको औँल्याउँदै यस्ता बेथिति जरैदेखि उखेल्न राज्य र नागरिकबीच सहकार्य हुनुपर्ने धारणा राखे । हरेक नागरिकलाई ‘हाम्रो लागि सरकार छ’ भन्ने भरोसा जगाउन सरकार प्रतिबद्ध रहेको उनले प्रस्ट पारे ।

दसैँ पर्वले आपसी अहंकार, रिस, राग, लोभ र विभेदलाई त्यागेर सत्कर्म र सत्यको बाटो रोज्न प्रेरित गर्ने उल्लेख गर्दै उनले टाढा-टाढा रहेका आफन्तजन र मान्यजनबीचको भेटघाटले आपसी भ्रातृत्व र हार्दिकता बढाउने बताए ।

नेपालको मौलिक सांस्कृतिक विविधतालाई आपसी सद्भाव र राष्ट्रिय एकतामा बदल्न चाडपर्वहरूले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने भन्दै प्रधानमन्त्रीले हर्षोल्लास र आत्मीयताका साथ विजयादशमी मनाउन स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेका छन् ।

शीर्ष समाचार

धेरै पढिएको