एनपीएलका सम्पूर्ण खेलमा डीआरएस प्रविधि प्रयोग हुने : क्यानद्वारा खेल समय संशोधन (तालिकासहित)
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले सञ्चालन गर्न लागेको बहुप्रतीक्षित नेपाल प्रिमियर लिग (एनपीएल) को आगामी संस्करणका सबै म्याचहरूमा अत्याधुनिक डिसिजन रिभ्यु सिस्टम (डीआरएस) प्रविधि कार्यान्वयनमा आउने भएको छ । क्यानले मंगलबार आधिकारिक सूचना जारी गर्दै प्रतियोगिताको सम्पूर्ण खेलहरूमा डीआरएस रहने निश्चित गरेको हो ।
आधुनिक प्रविधि जडान र त्यसको प्रभावकारी सञ्चालनका लागि प्राविधिक पक्षहरूलाई दृष्टिगत गर्दै क्यानले खेल सुरु हुने समय तालिकामा पनि परिमार्जन गरेको छ । कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अक्टोबर २६ देखि नोभेम्बर २१ सम्म चल्ने प्रतियोगिताको संशोधित तालिका अनुसार अब खेलहरू नयाँ समयमा सुरु हुनेछन् ।
नयाँ तालिकाअनुसार दैनिक दुई खेल हुने मितिमा पहिलो म्याच मध्याह्न १२ः३० बजे र दोस्रो म्याच साँझ ५ः०० बजे सुरु हुनेछ । त्यस्तै, तालिकामा एक खेल मात्र राखिएको दिनमा भने खेल साँझ ५ः०० बजेदेखि सञ्चालन हुने व्यवस्था मिलाइएको छ ।
क्यानका सचिव पारस खड्काले जारी गरेको वक्तव्यअनुसार खेलको गुणस्तर अभिवृद्धि गर्न र अम्पायरिङलाई थप त्रुटिरहित बनाउन डीआरएसको व्यवस्था गरिएको हो । घरेलु क्रिकेटको सबैभन्दा ठूलो फ्रेन्चाइज लिग एनपीएलमा सबै म्याचमा डीआरएस प्रयोग हुन लागेको यो पहिलो पटक हो ।

प्रतिकृया दिनुहोस्