October 17, 2026, Saturday
KN hd tv

एमाले महाधिवेशन: तीन गुणा बढीले उम्मेदवारी दिएपछि नेतृत्वलाई मिलाउनै सकस

आसन्न १० औं महाधिवेशनका लागि आवश्यक संख्याभन्दा तीन गुणा बढी आकांक्षी देखिएपछि नेकपा एमालेलाई प्रतिनिधि छनोट गर्न सकस देखिएको छ।

अधिकांश स्थानमा वडा र पालिकाको नेतृत्व सर्वसम्मत चयन गरे पनि महाधिवेशन प्रतिनिधिका लागि भने आवश्यक संख्या भन्दा धेरैले मनोनयन दर्ता गराएपछि सर्वसम्मत रूपमा प्रतिनिधि छनोट हुन नसक्ने देखिएको हो।

आगामी मंसिर १० गतेदेखि चितवनमा एमालेले १० औं महाधिवेशन गर्दैछ। सोही महाधिवेशनमा सहभागी हुन प्रतिनिधिको छनोट प्रक्रिया आजदेखि सुरू भएको छ।

करिब १७ हजार बढी सदस्य संख्या रहको रूपन्देहीमा ३३ जना प्रतिनिधि छनोट हुने एमालेको वैधानिक व्यवस्था छ। तर आवश्यक संख्याभन्दा तीन गुणा बढीले प्रतिनिधिको लागि मनोनयन दर्ता गरेका छन्।

रूपन्देहीमा एक सय बढी उम्मेदवार हुन सक्ने आकलन गरिएको छ।
प्रतिनिधि सभा निर्वाचन क्षेत्रलाई आधार मानेर छनोट हुने प्रतिनिधिका लागि आकांक्षीहरूको संख्या अत्यधिक भएपछि सर्वसम्मत गराउने नेतृत्वको चाहना असफल हुने देखिएको छ।

रूपन्देहीको निर्वाचन क्षेत्र नं १ मा खुलाबाट ४ जना र महिला २ जनासहित ६ जना प्रतिनिधि चयन हुने छन्। तर उक्त क्षेत्रमा खुलातर्फ २४ जना महिला ७ जना गरी ३१ जनाले मनोनयन दर्ता गराएका छन्।

जिल्लाबाट सबभन्दा बढी प्रतिनिधि छनोट हुने क्षेत्र नं २ मा मात्रै ५२ जनाले मनोनयन दर्ता नेकपा एमाले रूपन्देहीका सचिवालय सदस्य तेजेन्द्र केसीले जानकारी दिए।

क्षेत्र नं. २ बाट खुलातर्फ ८ जना र महिला ३ गरी ११ जनामात्रै महाधिवेशन प्रतिनिधि छनोट हुनेछन्। तर खुलातर्फ ३५ जना र १७ जना महिलाले मनोनयन दर्ता गराएको केसीले जानकारी दिए।

रूपन्देहीका बुटवल उपमहानगरपालिकासँगै तिलोत्तमा र सैनामैना नगरपालिकाका केही वडा समेटिएको क्षेत्र नं. २ मा स्थानीयसँगै जिल्ला, प्रदेश र केन्द्रीय नेतृत्व समेत बुटवलमा रहेकोले उक्त क्षेत्रबाट धेरै आकांक्षी देखिएको एमालेको भनाइ छ।

क्षेत्र नं. २ बाट राष्ट्रिय सभा सदस्य गोपाल भट्टराई, प्रदेश सभा सदस्य भोजप्रसाद श्रेष्ठ, बुटवल उपमहानगरपालिकाका मेयर शिव सुवेदी, तिलोत्तमाका मेयर बासुदेव घिमिरे, सैनामैनाका चित्रबहादुर कार्कीसँगै मोहन चापागाई, दिनेश फुल्लेल, मिनप्रसाद पौडेल, खुसीराम चौधरी एजाज आलम, कमला विक, तेजेन्द्र केसी, बाबुराम पन्थी, सावित्रा अर्याल, बाबुराम भट्टराई, गोपाल राना, गोमादेवी आचार्य, ज्ञानु केसी, थानकुमारी थापा, जानकी न्यौपाने लगायतले मनोनयन दर्ता गराएका छन्।

त्यसैगरी, खुलातर्फ ४ र महिला २ गरी ६ जना प्रतिनिधि चयन हुने क्षेत्र नं. ३ मा ३१ जनाले मनोनयन दर्ता गराएको एमाले जिल्ला कमिटी सदस्य हितराज पन्थीले जानकारी दिए।

त्यस्तै, क्षेत्र नं. ५ मा १२ जनाले मनोनयन दर्ता गरेका छन्।

क्षेत्र नं. ५ बाट खुलाबाट ४ र महिला १ गरी ५ जनामात्रै प्रतिनिधि छनोट हुनेछन्।

जिल्लामा सबभन्दा कम प्रतिनिधि छनोट हुने क्षेत्र नं ४ मा भने भोलिमात्रै प्रतिनिधि छनोट प्रक्रिया सुरू गरिने क्षेत्रीय इन्चार्ज बाबुलाल यादवले जानकारी दिए।

क्रियाशील ४ सय पार्टी सदस्य रहेको क्षेत्र नं. ४ मा खुलाबाट २ र महिला १ गरी तीन जनामात्रै प्रतिनिधि चयन हुनेछन्। तर ६/७ जनाले प्रतिनिधि भएर महाधिवेशनमा भाग लिन इच्छुक देखिएको यादवले जानकारी दिए।



शीर्ष समाचार

धेरै पढिएको