October 16, 2026, Friday
KN hd tv

वार्षिक ४,९९९ मै नेपाल टेलिकमको ३० एमबीपीएस फाइबर इन्टरनेट, जडान शुल्क र मोबाइल डाटा निःशुल्क

काठमाडौँ । नेपाल टेलिकमले सर्वसुलभ दरमा उच्च गतिको इन्टरनेट सेवा प्रदान गर्ने उद्देश्यका साथ वार्षिक ४ हजार ९९९ रुपैयाँमै ३० एमबीपीएसको एनटी फाइबर प्याकेज सुरु गरेको छ । बजारमा निजी इन्टरनेट प्रदायकहरूले सस्ता प्याकेज हटाउँदै लगेको सन्दर्भमा टेलिकमले उपभोक्ताको हितलाई प्राथमिकता दिँदै यो नयाँ योजना ल्याएको हो ।

कम्पनीले एफटीटीएचअन्तर्गत नयाँ वाइफाई–६ प्रविधिमा आधारित विभिन्न गतिको वार्षिक प्याकेजहरू आजदेखि औपचारिक रूपमा सञ्चालनमा ल्याएको टेलिकमका प्रवक्ता डा. कमल लामिछानेले जानकारी दिएका छन् । जसअनुसार १०० एमबीपीएस इन्टरनेट र टेलिफोन सुविधा वार्षिक ११ हजार ४९९ रुपैयाँ तथा १५० एमबीपीएसको सेवा १२ हजार९९९ रुपैयाँमा जडान गर्न सकिनेछ ।

त्यस्तै, तीव्र गतिको इन्टरनेट चाहने उपभोक्ताहरूका लागि २०० एमबीपीएसको प्याकेज वार्षिक १६ हजार ४९९ रुपैयाँमा उपलब्ध हुनेछ । वार्षिक प्याकेज खरिद गर्ने सम्पूर्ण सेवाग्राहीलाई दैनिक ८०० देखि १००० एमबीसम्मको मोबाइल डाटा उपहारस्वरूप निःशुल्क प्रदान गरिने टेलिकमले जनाएको छ ।

यसबाहेक, यी कुनै पनि वार्षिक प्याकेज जडान गर्दा लाग्ने ५०० रुपैयाँको प्रारम्भिक जडान शुल्कसमेत पूर्णतः छुट गरिएको छ । देशभरका आफ्ना ग्राहकहरूलाई आधुनिक सूचना प्रविधिसँग जोड्न र डिजिटल नेपालको परिकल्पनालाई साकार पार्न यो सेवा प्रभावकारी हुने टेलिकमको भनाइ छ ।

शीर्ष समाचार

धेरै पढिएको