October 16, 2026, Friday
KN hd tv

‘मेरो आचरणमा प्रश्न उठे जवाफ मैले नै दिने हो, पार्टीले होइन’: कांग्रेस सभापति गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कुनै पनि राजनीतिक दल कसैको व्यक्तिगत पेवा वा निजी कम्पनी हुन नसक्ने बताउँदै पार्टीलाई सार्वजनिक सम्पत्तिका रूपमा विकास गर्नुपर्ने बताएका छन् । शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले पार्टी र व्यक्तिको आचरणलाई अलग राखेर हेर्नुपर्ने धारणा व्यक्त गरे ।

सभापति थापाले राजनीतिक दलमा सम्पूर्ण जनता र कार्यकर्ताहरूको साझा हिस्सेदारी रहने उल्लेख गर्दै नेताहरूको व्यक्तिगत गल्तीको दोष संस्थाले बोक्न नसक्ने स्पष्ट पारे । ‘पार्टी सार्वजनिक सम्पत्ति हो, नेताको निजी कम्पनी होइन,’ उनले भने, ‘पार्टीको निष्ठा र सिद्धान्त सधैँ उच्च रहन्छ, तर खराब आचरण भने व्यक्तिको हुन्छ ।’

आफ्नो आचरणमाथि प्रश्न उठे पार्टीलाई ढाल नबनाउने उद्घोष गर्दै थापाले भने, ‘यदि मेरो व्यक्तिगत आचरण वा काममा कुनै प्रश्न उठ्छ भने त्यसको सामना र जवाफ मैले नै दिनुपर्छ, पार्टीले त्यसको बचाउ गर्नुपर्दैन ।’ उनले नेताहरूले आफ्नो व्यक्तिगत क्रियाकलापको जवाफदेहिता आफैँ लिनुपर्ने संस्कार बसाल्न जरुरी रहेको औँल्याए ।

पार्टीभित्र लामो समयदेखि थुप्रिएका बेथिति र कमीकमजोरीलाई ‘फोहोर’ का रूपमा चित्रित गर्दै सभापति थापाले त्यसलाई सफा गरेर कांग्रेसलाई सुदृढ र पारदर्शी बनाइछाड्ने प्रतिबद्धता व्यक्त गरे । आम नागरिकको विश्वास जित्नका लागि पार्टी सङ्गठनलाई रूपान्तरण गर्दै अघि बढ्ने उनको उद्घोष थियो ।

शीर्ष समाचार

धेरै पढिएको