प्रधानमन्त्रीको अनुपस्थितिमै नीति तथा कार्यक्रममाथिको छलफल सुरु, विपक्षीबाट ३५ संशोधन दर्ता

काठमाडौँ । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफल प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को अनुपस्थितिमै प्रतिनिधिसभामा सुरु भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलद्वारा संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गरिएको नीति तथा कार्यक्रममाथि बिहीबारदेखि प्रतिनिधिसभामा औपचारिक छलफल प्रारम्भ भएको हो। यसअघि बुधबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नीति तथा कार्यक्रम टेबल गरे पनि प्रधानमन्त्रीको उपस्थिति अनिवार्य हुनुपर्ने मागसहित विपक्षी दलहरूले अवरोध सिर्जना गरेपछि बैठक कार्यसूचीमा अघि बढ्न सकेको थिएन।

सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्रीसँग समन्वय गर्ने बताए पनि बिहीबारको बैठकमा उनी उपस्थित भएनन्। प्रधानमन्त्रीको कार्यशैलीले संसद्लाई बेवास्ता गरेको भन्दै विपक्षी सांसदहरूले बैठकको सुरुवातमै चर्को विरोध जनाएका छन्। सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि विपक्षी दलका तर्फबाट कुल ३५ वटा संशोधन प्रस्तावहरू दर्ता भएका छन्।

छलफलका क्रममा नेपाली कांग्रेसका मिस्कल राई, नेकपा एमालेका ऐन महर, राष्ट्रिय प्रजातन्त्र पार्टीकी खुस्बु ओली र नेकपाका युवराज दुलाललगायतका सांसदहरूले वर्तमान सरकारको कार्यशैली तथा शासन प्रणालीमाथि गम्भीर प्रश्न उठाएका छन्। विपक्षी दलहरूको चर्को विरोध र असन्तुष्टिका बाबजुद आजै छलफल टुङ्ग्याएर उठेका प्रश्नहरूको जवाफ दिने संसद्को सम्भावित कार्यसूची रहेको छ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा