गृहमन्त्रीले विदेश भागे भनेका पूर्वऊर्जामन्त्री खड्का घरमै

काठमाडौं : पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं नेपाली कांग्रेसका नेता दीपक खड्का घरमै रहेको पुष्टि भएको छ ।
गृहमन्त्री ओमप्रकाश अर्यालले विदेश भागिसकेको भनेका खड्का काठमाडौंको बूढानीलकण्ठस्थित घरमै रहेको सार्वजनिक भएको हो ।

खड्काले सोमबार विहान आफ्नै निजी निवासमा केही आफन्त र साथीहरूसँग कुराकानी गरेको भिडिओ सार्वजनिक भएको छ ।

कुराकानीमा उनले आफू २०७२ सालको संविधान निर्मातामध्ये एक जना भएको र यो संविधानको पालना गर्नु आफ्नो कर्तब्य भएको स्पष्ट पारेका छन् ।

सम्पत्ति शुद्धीकरण अनुसन्धानमा तानिएका खड्का शंकास्पद रुपमा सुटुक्क विदेश पुगेको विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशित भएको थियो ।

गृहमन्त्री ओमप्रकाश अर्यालले खड्का विदेश भागिसेकको दाबी गरेका थिए । नयाँ पत्रिकालाई दिएको अन्तर्वार्तामा उनले ‘तत्कालीन ऊर्जामन्त्री (दीपक खड्का) भागिसके, अरू पनि भाग्न खोज्दै छन्, उनीहरूलाई भाग्नबाट रोक्नेसम्बन्धी प्रावधान छ कि भनेर अध्ययन गरिरहेका छौं’ भनेका छन् ।

खड्का कुन देश गए भन्नेबारे गृहमन्त्रीले खुलाएका थिएनन् । तर, उनी अमेरिका पुगेको परराष्ट्र स्रोतले दाबी गरेको थियो । स्थलमार्गबाट भारतको बाटो हुँदै उनी अमेरिका पुगेको आशंका गरिएको थियो ।

२३ भदौमा भएको जेन–जी आन्दोलनमा प्रहरीले दमन गरेको आक्रोशमा भोलिपल्ट प्रदर्शन भड्किएपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएपछि खड्का पनि मन्त्रीबाट पदमुक्त भएका थिए । प्रदर्शनकारीले खड्काको बूढानीलकण्ठस्थित निवासमा पनि आगजनी गरेका थिए ।

त्यस क्रममा उनको निवासमा नेपाली र विदेशी नोट भेटिएको भिडियो र तस्बिर सार्वजनिक भएको थियो । यसैलाई मुख्य आधार बनाएर सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले खड्काको सम्पत्ति विवरण खोजबिन गरिरहेको छ ।

पूर्वमन्त्री खड्का जलस्रोत व्यवसायी समेत हुन् । ऊर्जामन्त्री हुँदा स्वार्थ समूहलाई जलविद्युत् आयोजनाको लाइसेन्स बाँड्न आर्थिक चलखेल गरेको, आर्थिक स्वार्थकै लागि विद्युत् प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङसँग मनमुटाव गरेको, नेपाल स्काउटको जग्गा दुरुपयोग गरेकोलगायत विवादमा उनी तानिएका थिए ।

(*यसअघि समाचारमा अन्यथा परेकोमा सच्याइएको छ– सम्पादक)

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा