काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हुलाकी राजमार्ग केन्द्रित तराई–मधेश जागरण अभियानले जनतामा माओवादीप्रति विश्वास बढाएको दाबी गरेका छन्।
नेपाली जन प्रगतिशील मञ्च जापानको दोस्रो साधारण सभालाई भर्चुअल रूपमा सम्बोधन गर्दै अध्यक्ष दाहालले अभियानले पार्टीलाई जनतासँग थप एकीकृत बनाएको बताए। उनले नेताहरूबीच भावनात्मक एकता कायम गर्दै माओवादीलाई जनतासँग एकाकार गराउने निर्णयअनुसार अभियान सञ्चालन भएको उल्लेख गरे।
अभियान स्थगित गर्नुको तीन कारण बताउँदै उनले प्रतिक्रियावादी शक्तिहरूको चहलपहल, संसद्को काममा ध्यान दिनुपर्ने आवश्यकता, र स्ववियु निर्वाचन परेकाले अभियानलाई केही समय रोकिएको स्पष्ट पारे।
उनले माओवादी नेतृत्वको सरकारले जनताको पक्षमा काम गर्दा असंवैधानिक रूपमा अपदस्थ गरिएको आरोप लगाए। ‘जनताले राम्रोसँग बुझेका छन् कि माओवादीले गर्ने भनेपछि गर्छ। म प्रधानमन्त्री हुँदा रोकिएको हुलाकी राजमार्ग निर्माण अघि बढाएको थिएँ, त्यसैले जनताको माओवादीप्रतिको विश्वास अझ बलियो भएको छ,’ उनले भने।
पूर्वको झापादेखि महोत्तरीसम्मको अभियानमा करिब चार हजार व्यक्ति माओवादी केन्द्रमा प्रवेश गरेको दाबी गर्दै उनले जनताको सकारात्मक भावना पार्टीप्रति बढ्दै गएको बताए। अभियानको प्रभाव व्यापक भएको भन्दै अन्य दलका नेताहरू, बुद्धिजीवी र कर्मचारीहरूले समेत यसलाई पुनः सुरु गर्न आग्रह गरेको उनले उल्लेख गरे।
एमाले नेतृत्वको सरकार जनविरोधी गतिविधिमा लागेको आरोप लगाउँदै उनले माओवादी केन्द्रले प्रतिक्रियावादी शक्तिहरूविरुद्ध संघर्ष गर्ने तयारी गरिरहेको बताए। अब संसद् र स्ववियु निर्वाचनका काममा ध्यान दिएर केही समयपछि अभियानलाई पुनः निरन्तरता दिने उनले जानकारी दिए।
