मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको मितव्ययिता र पारदर्शितामाथि फैलाइएको भ्रमप्रति ध्यानाकर्षण

काठमाडौं, पुस १८ — बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदभार सम्हालेयता प्रदेश सरकारको खर्च कटौती गर्दै मितव्ययिता र पारदर्शितालाई प्राथमिकतामा राख्दै आउनुभएको छ। मुख्यमन्त्री बनेलगत्तै उहाँले प्रदेश सरकारअन्तर्गतका सबै निकायलाई आर्थिक अनुशासन कायम गर्न स्पष्ट निर्देशन दिँदै आउनुभएको छ।

सोही नीतिअनुसार मुख्यमन्त्री बानियाँले आफ्नो सचिवालयमा हुने खर्चमा समेत कटौती गर्नुभएको छ। सरकारी निवास सञ्चालन खर्चदेखि यात्राका क्रममा प्रयोग हुने सवारी साधनको इन्धनसमेत उहाँले निजी खर्चबाट व्यहोर्दै आउनुभएको छ। मुख्यमन्त्रीको सचिवालयले हालसम्म भ्रमण भत्ता समेत नलिई जिम्मेवारी निर्वाह गरिरहेको छ।

त्यसैगरी, मुख्यमन्त्री बानियाँले आफ्नो सुविधाबापत प्राप्त हुने रकमबाट विपन्न परिवारका लागि घर निर्माण गरिदिने घोषणा गर्नुभएको थियो। उक्त प्रतिबद्धताअनुसार मनहरी र कैलाश गाउँपालिकामा दुई विपन्न परिवारका घर निर्माण गरी हस्तान्तरण भइसकेको छ भने राक्सिराङ गाउँपालिकामा एक घर निर्माण कार्य हाल निर्माणाधीन अवस्थामा रहेको छ।

यद्यपि, मुख्यमन्त्रीले गरेका यी सकारात्मक र उदाहरणीय कार्यलाई ओझेलमा पार्ने उद्देश्यले केही व्यक्ति तथा समूह सक्रिय रहेको प्रदेशबासी, शुभचिन्तक र शुभेच्छुकहरू जानकार रहेको जनाइएको छ। सामाजिक सञ्जाल तथा सञ्चारमाध्यमको दुरुपयोग गर्दै निरन्तर नकारात्मक सन्देश फैलाउने प्रयास भइरहेको उल्लेख गरिएको छ।

हालै बिहीबार सिरहा कांग्रेस सभापति रामचन्द्र यादवले आयोजना गरेको कार्यक्रममा सहभागी हुन मुख्यमन्त्री बानियाँले निजी खर्चमा हेलिकप्टर प्रयोग गरेको विषयलाई लिएर भ्रम फैलाइएकोप्रति गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ। सोही दिन सिन्धुपाल्चोकको मेलम्ची–९ गुफाडाँडामा आयोजित छैटौं जलवायु सम्मेलनमा सहभागी भई त्यसपछि सिरहामा आयोजित पार्टी कार्यक्रममा पुग्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएकाले सडकमार्गबाट यात्रा सम्भव नभई निजी खर्चमा हवाई यात्रा गरिएको स्पष्ट पारिएको छ।

उक्त यात्राका क्रममा कुनै पनि सरकारी कोषको दुरुपयोग नभएको मुख्यमन्त्रीको सचिवालयले स्पष्ट पारेको छ। सरकारी स्रोतको दुरुपयोग हुन नदिन मुख्यमन्त्री बानियाँ सधैं सजग रहँदै आउनुभएको भन्दै जनतालाई विश्वस्त रहन आग्रह गरिएको छ।

सामाजिक सञ्जालमार्फत भ्रमपूर्ण सामग्री प्रसारण गर्नु साइबर अपराधअन्तर्गत पर्ने भएकाले यस्ता गतिविधिमा संलग्न नहुन सबैलाई अनुरोध गरिएको छ। साथै सञ्चारमाध्यमहरूलाई पनि सत्यतथ्यको पुष्टि गरेर मात्र समाचार प्रकाशन तथा प्रसारण गर्न आग्रह गरिएको छ।

अन्त्यमा, सकारात्मक सोच, सद्भाव र शुभेच्छा प्रकट गर्नुहुने सम्पूर्ण शुभचिन्तकप्रति हार्दिक धन्यवाद व्यक्त गरिएको छ।

— मिलन पुडासैनी
प्रमुख स्वकीय सचिव
मुख्यमन्त्री, बागमती प्रदेश

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा