काठमाडौं : तत्कालीन गृहमन्त्री एवम् नेपाली कांग्रेसका नेता रमेश लेखक भदौ २३ र २४ गतेको घटना छानबिनका लागि गठित जाँचबुझ आयोगमा बयान दिने कि नदिने भन्नेबारे द्विविधामा परेका छन् ।
जाँचबुझ आयोगले लेखकलाई बयानका लागि पत्र पठाएको छ । त्यसबारे उनले विभिन्न पक्षसँग परामर्श गरिरहेका लेखक निकट स्रोतले जनाएको छ ।
यसै क्रममा उनले आज पार्टी सभापति शेरबहादुर देउवासँग परामर्श गर्दैछन् । देउवालाई भेट्न उनी बस्दै आएको महाराजगञ्जस्थित देउवा निवास जाँदै छन् ।
लेखकले आफूलाई आयोगले बयान दिन बोलाएको विषयमा सल्लाह गरिरहेको विभिन्न सञ्चारमाध्यमलाई बताएका थिए । आयोगले बयानका लागि बोलाएको जानकारी आएको तर पत्र भने नपाएको उनले बताएका छन् ।
विशेष अदालतका तत्कालीन पूर्वअध्यक्ष गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले मंगलबार लेखकलाई बयानका लागि पत्र पठाउने निर्णय गरेको थियो ।
लेखकलाई तत्कालीन प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बयान नदिन आग्रह गरेका थिए । ओली आफू पनि बयान नदिने अडानमा छन् ।

