छिन्नभिन्न हुँदै एकीकृत समाजवादी, माधव नेपालले अलपत्र पारेको आरोप

काठमाडौं । दुई पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र झलनाथ खनालले नेतृत्व गरेको नेकपा (एकीकृत समाजवादी) छिन्नभिन्न हुने भएको छ । नेकपा (एमाले) बाट छुट्टिएर बेग्लै संगठन निर्माण गरेको चार वर्षपछि एकीकृत समाजवादी विघटनको बाटोमा अघि बढेको छ ।

अध्यक्ष माधवकुमार नेपालसहित बहुमत पक्षले नेकपा (माआवादी केन्द्र) सँग एकताको पहल थालेको छ । तर, माओवादीमा जान नचाहनेहरू भने बेग्लै पार्टी निर्माण गरेर बस्ने, एमालेमै फर्कने वा एकीकृत समाजवादीलाई नै पुनर्गठन गर्ने जस्ता विभिन्न विकल्प खोजिरहेका छन् ।

समाजवादी मोर्चाका नाममा ध्रुवीकृत माओवादी, विप्लव समूह, अशोक राई नेतृत्वको जसपा र माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीबीच छिट्टै पार्टी एकता हुने तयारीबीच एकीकृत समाजवादी भने अन्याोल र छिन्न भिन्नको अवस्थामा पुगेको हो ।

सो पार्टीका सम्मानित नेता झलनाथ खनालले माओवादीसँग एकता गर्न नहुने बताएका छन् ।

खनालले भनेका छन्, ‘यतिबेला हाम्रो पार्टीको निम्ति कसैसँग पनि पार्टी एकीकरण गर्ने मौसम होइन र छैन । हामी कोही पनि गलत बाटो हिँड्दै भड्खालोमा पर्ने र अरूलाई पार्ने दिशामा नलागौँ ।’

यस्तै उनले जेनजी आन्दोलन सबै पुस्ताको क्रान्तिकारी पुनर्गठन र रूपान्तरणको माग हो भन्दै त्यसलाई अस्वीकार गरेर कोही अघि जान नसक्ने स्पष्ट पारेका छन् ।

साथै उनले देश, जनता र वामपन्थी आन्दोलनलाई नयाँ धरातलबाट उठाउन प्रत्येक पार्टीमा पुनर्गठन र रूपान्तरण अनिवार्य भएको पनि बताएका छन् ।

‘हरेक सानाठूला पार्टीहरूमा र खुद जेनजी समूहमा समेत उथलपुथल र विभाजन भइरहेका छन् । त्यसले गर्दा सबैतिर सर्वत्र पुनर्गठन र रूपान्तरणको माग उठिरहेको छ,’ खनालले भनेका छन्, ‘पार्टी रूपान्तरण जनता, राष्ट्र, युग र समयको माग हो’ भन्दै उनले फगत पुस्तावादको माग मात्र नभएको उल्लेख गरेका छन् ।

यता, माओवादी केन्द्रसँग एकता गर्न नचाहनेहरूले अर्को ध्रुविकरणको प्रयास गर्न थालेका छन् ।

वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीका महासचिव विश्वभक्त दुलाल (आहूति) र उनको समूहका नेताहरूको पहलमा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’, एकीकृत समाजवादीका महासचिव घनश्याम भुसाल, स्थायी कमिटी सदस्य तथा पूर्वउपमहासचिव डा विजय पौडेलसहितको मोर्चावन्दी भइरहेको हो ।

छलफलमा सहभागी एक नेताले बताएका छन्, ‘कतिपय साथीहरू आ–आफ्नो पार्टीभित्रको पोजिसनका कुराले खुलिसक्नुभएको छैन, तर हामी घनिभूत छलफलमा जुटिसकेका छौं ।’

एकीकृत समाजवादीका एक नेताले माओवादीसँग एकता गर्ने भनेर माधव नेपालले अलपत्र पारेको बताए । उनका अनुसार माओवादीसँगको एकतामा जान नचाहने एकीकृत समाजवादीको एउटा तप्का सोही पार्टी चलाउने र अर्को तप्का अर्को ध्रुवीकरणमा लाग्ने तयारीमा छन् । त्यहीँभित्रको एउटा पंक्ति भने एमालेमा फर्किने गरी कुराकानीमा रहेको उनले बताए ।

उनले एमालेमा फर्कने अवस्था नरहेको समेत स्पष्ट पारे ।

‘हिजो जेजस्तो अवस्थामा हामीले एमाले फुटायौं, आज पनि त्यहाँ त्यही नेतृत्वको हालिमुहाली छ, अहिले हामी त्यहाँ गयौँ भने फेरि पनि हाम्रो राजनीतिक अवसान नै हुने हो, त्यसैले सक्किनुभन्दा सच्चिनु बेस भनेर नारायणकाजी, जनार्दन, आहुतिसहितको छलफल चलाइएको हो’, उनले भने ।

यता, छलफलमा सहभागी एक माओवादी नेताका अनुसार अध्यक्ष प्रचण्डले बैठकमै कतिपय नेतालाई पार्टी छाडेर गइहाल्न भन्दै दुत्कार्ने प्रवृत्ति बढेपछि विकल्प खोजेको बताएका छन् ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा