November 4, 2026, Wednesday
KN hd tv

अमेरिकी मध्यावधि निर्वाचन : प्रारम्भिक परिणामले डेमोक्र्याटिक पार्टी उत्साहित, कडा टक्करबिच सिनेटमा जित

वाशिङ्टन । अमेरिकामा जारी मध्यावधि निर्वाचनको प्रारम्भिक नतिजाले विपक्षी डेमोक्र्याटिक पार्टीलाई ठूलो उत्साह दिएको छ । प्रतिनिधिसभा र सिनेटको नियन्त्रणका लागि भएको कडा प्रतिस्पर्धामा डेमोक्र्याटहरूले प्रारम्भिक चरणमै रिपब्लिकन गढहरूमा धक्का दिएका छन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यम सीएनएनको प्रक्षेपण अनुसार फ्लोरिडामा रिपब्लिकन पार्टीले आफ्नो अनुकूल हुने गरी निर्वाचन क्षेत्रको नक्सा पुनर्निर्धारण गरे पनि डेमोक्र्याटहरूले कम्तीमा तीन प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा विजय हासिल गर्ने निश्चित भएको छ । २५औँ क्षेत्रमा जारेड मोस्कोविट्ज, २२औँ क्षेत्रमा पिया दान्दिया र १४औँ क्षेत्रमा क्याथी क्यास्टर विजयी हुने देखिएको छ ।

उता, सिनेटको शक्ति सन्तुलनमा पनि डेमोक्र्याटहरूले महत्त्वपूर्ण सफलता हात पारेका छन् । जर्जियाबाट सिनेटर जोन ओसफ पुनः निर्वाचित भएका छन् भने उत्तरी क्यारोलाइनामा पूर्वगभर्नर रोय कुपरले रिपब्लिकन प्रतिस्पर्धी माइकल ह्वाट्लीलाई पराजित गर्दै १६ वर्षपछि पहिलोपटक उक्त राज्यबाट डेमोक्र्याटलाई सिनेटमा पुर्‍याएका छन् । न्यु ह्याम्पसायरबाट क्रिस पापास सिनेटमा निर्वाचित हुने प्रक्षेपण गरिएको छ ।

प्रारम्भिक मतदाता सर्वेक्षण अनुसार ७१ प्रतिशत मतदाताले वर्तमान कंग्रेसले राष्ट्रपति ट्रम्पको सत्तामाथि पर्याप्त निगरानी र सन्तुलन कायम गर्न नसकेको प्रतिक्रिया दिएका छन् । देशमा बढेको महँगी र जनजीविकाका सवालहरू चुनावी मतपरिणाममा प्रतिबिम्बित भएको विश्लेषण गरिएको छ । बाँकी स्विङ राज्यहरूको मतगणना जारी रहेकाले सिनेटको अन्तिम बहुमत कसको हातमा जाने भन्ने अझै स्पष्ट हुन बाँकी छ ।

शीर्ष समाचार

धेरै पढिएको