काठमाडौं – सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको १०० दिन पूरा भएको तथा पछिल्लो पटकको मन्त्रिपरिषद् विस्तार भएपछिको यो पहिलो बैठक हो।
प्रचण्डले शुक्रबार मन्त्रिपरिषद् विस्तार गरेका हुन्। जसमा कांग्रेसबाट ४, एकीकृत समाजवाबाट २, माओवादी, लोसपा, जसपा, नागरिक उन्मुक्ति र नेसपाबाट १-१ जना मन्त्री थपिएका छन्।
कांग्रेसबाट मन्त्री बन्नेहरूमा उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, अर्थमन्त्री प्रकाशशरण महत, उद्योगमन्त्री रमेश रिजाल र सहरी विकासमन्त्री सीता गुरुङ छन्।
यस्तै, एकीकृत समाजवादीबाट वेदुराम भुसाल कृषि र प्रकाश ज्वाला भौतिक मन्त्री छन्। जसपाबाट अशोक राई, शिक्षा, लोसपाबाट शरदसिंह भण्डारी श्रम, नेसपाबाट महिन्द्रराय यादव महिला तथा बालबालिका र नाउपाबाट रञ्जिता श्रेष्ठ भूमिसुधार मन्त्री भएका छन्।
माओवादीबाट नारायणकाजी श्रेष्ठ उपप्रधान तथा गृह, शक्ति बस्नेत ऊर्जा, रेखा शर्मा सञ्चार, सुदन किराँती पर्यटन, अमनलाल मोदी, संघीय मामिलामन्त्रीको जिम्मेवारीमा छन्। माओवादीकै सुशीला श्रीपाली पर्यटन राज्यमन्त्री छिन्।
कानुन, न्याय तथा संसदीय मामिला, खानेपानी, परराष्ट्र, वन तथा वातावरण, युवा तथा खेलकुद र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी भने प्रधानमन्त्री प्रचण्डले सम्हाल्दै आएका छन्।
आजको मन्त्रिपरिषद् बैठकले मिटरब्याजी पीडितहरूका लागि पनि केही निर्णय गर्ने अपेक्षा गरिएको छ। यसअघिको मन्त्रिपरिषद् बैठकले मिटरब्याजलाई अपराध ठानेर कानुन बनाई कारबाही गर्ने निर्णय गरेको थियो। त्यससँगै सरकारले महोत्तरीबाट काठमाडौं आएका मिटरब्याज पीडितहरूसँग पनि न्याय दिलाउने सम्झौता गरिसकेको छ।
दोस्रोपटक विश्वासको मत लिनुपर्ने अवस्था आएपछि प्रचण्डले एमाले र राप्रपासहितको समर्थन गुमाउन पुगे। राजनीतिक किचलो र गठबन्धन फेरबदलले सातपटक विस्तार हुँदा पनि मन्त्रीपरिषद्ले अझै पूर्णता पाउन सकेको छैन।
त्यस्तै, अर्थतन्त्र सुधार तथा जनसरोकारका काम अलपत्र परेका छन्। हाल निर्वाचनअघिकै गठबन्धनमा नागरिक उन्मुक्तिलगायत केही साना दल थपिँदासमेत सरकारमा समेट्नुपर्ने र गठबन्धन जोगाइरहनुपर्ने चुनौतीमा उनी छन्।

