मन्त्री चौधरी : सुकुम्बासीको समस्या समाधान गर्न सबै पक्षको सहयोग र सहमति आवश्यक छ

काठमाडौं– सहरी विकासमन्त्री मेटमणि चौधरीले काठमाडौं उपत्यकाको सुकुम्बासी तथा अव्यवस्थित बसोबासी र भूमिहीनको समस्या समाधान गर्न सबै पक्षको सहयोग र सहमति आवश्यक रहेको बताएका छन्। 

काठमाडौं सहरको सौन्दर्यमा असर पार्ने फोहोरमैलाको व्यवस्थापन तथा नदी किनारामा रहेका सुकुम्बासी बस्तीको व्यवस्थापन कार्य चूनौतिपूर्ण रहेको उल्लेख गर्दै मन्त्री चौधरीले त्यसको समाधानका लागि सबै पक्षको सहयोग र सहमति आवश्यक्ता रहेको बताए। 

काठमाडौं महानगरपालिकाको २८औं महानगर दिवसको अवसरमा बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री चौधरीले काठमाडौंलाई व्यवस्थित, सफा र सुन्दर सहर निर्माण गर्नका लागि आवश्यक पूर्वाधारको विकास गर्न ठोस कार्यहरु संचालन गर्न ढिलाइ गर्न नहुने बताए।  महानगरपालिकालाई बसोबासयोग्य, प्रदुषणरहित, वातावरणमैत्री बनाइ महानगरबासीको आधारभूत आवश्यक्त परिपूर्ति गर्न काठमाडौं महानगरपालिकाले खेल्दै आएको भूमिका महत्वपूर्ण रहेको मन्त्री चौधरीको भनाइ थियो। चौधरीले यस काममा नेपाल सरकारले पनि सक्दो सहयोग गरिरहेको र त्यसलाई निरन्तर अघि बढाउने प्रतिबद्धता व्यक्त गरे। 

‘काठमाडौं उपत्यका देखिएको फोहोरमैलाको समस्यालाई समाधान गर्न, दिनप्रतिदिन विभिन्न नदीका किनाराहरुमा बढ्दै गएको बसोबास एवम् बसोबासीहरुको व्यवस्थापन गर्ने कार्य चुनौती बन्दै गएको छ। सहरको सौन्दर्यमा प्रत्यक्ष असर पार्ने यस्ता समस्याहरुलाई समयमै समाधान गर्न अति जरुरी भईसकेको छ,’ मन्त्री चौधरीले भने, ‘जसका लागि सबै पक्षको सहयोग र सहमतिको आवश्यक्ता पर्दछ। आगामी दिनहरुमा यस्ता समस्या एवम् चुनौतीहरुको सामना गर्न काठमाडौं महानगरपालिका सक्षम तथा सफल हुनेछ भन्ने विश्वास गरेको छु।’

मन्त्री बसोबासयोग्य सहरको रुपमा काठमाडौं महानगरपालिकालाई कायम गर्न आफ्नो मन्त्रालयले गरिरहेको सहकार्यलाई अझ बढावा दिने पनि दोहोर्‍याए।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा