पर्यटनमन्त्री श्रेष्ठ : इन्द्रजात्रा सांस्कृतिक पर्यटनको प्रमुख आकर्षण

काठमाडौं–  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले इन्द्रजात्रा नेपालको सांस्कृतिक पर्यटनका लागि प्रमुख आकर्षण रहेको बताएका छन्।

काठमाडौंको प्रसिद्ध इन्द्रजात्रा सुरुआतको अवसरमा बुधबार हनुमानढोका पुगेका मन्त्री श्रेष्ठले इन्द्रजात्रासँगै यहाँका अनगन्ति मूर्त–अर्मूत संस्कृति र सम्पदाहरूको प्रचार–प्रसारबाट पर्यटकलाई आकर्षण गर्न सकिने बताएका छन्। 

मुलुकको सांस्कृतिक धरोहरको रुपमा रहेको इन्द्रजात्राको काठमाडौं उपत्यकामा मनाइने अन्य जात्रा र चाडपर्वमध्ये विशिष्ट स्थान रहेको उनले बताएका छन्। 

नेपालका विभिन्न जातजातिका संस्कृति, संस्कार, परम्परा, जीवनशैली पर्यटक लोभ्याउने खालका रहेको बताउँदै उनले संस्कृति र सम्पदाहरुलाई पर्यटनसँग जोडेर स्थानीय जनताको जीवनस्तर उकास्ने आफ्नो कार्ययोजना रहेको बताए। 

जात्रा पर्व सञ्चालनका लागि प्रदान गरिने अनुदान समयसापेक्ष बनाउनुपर्नेमा मन्त्री श्रेष्ठले जोड दिए। 

सांस्कृतिक सम्पदाको प्रवर्द्धनमार्फत् पर्यटकलाई आकर्षित गर्ने र नेपालको समृद्धिमा यसलाई उपयोग गर्न सकिने उनको भनाइ छ। काठमाडौंको हनुमानढोका अगाडि विधिपूर्वक इन्द्रध्वजाको लिंगो ठड्याइएपछि इन्द्रजात्राको सुरुआत भएको छ। 

वर्षा र सहकालका देवताका रूपमा चिनिने इन्द्रका लागि आठ दिनसम्म, इन्द्र पूजन एवं विभिन्न देवी देवतासँग सम्बन्धित नाचगान साथै कुमारी, भैरव र गणेश रथयात्रा गर्दै यो पर्व मनाउने गरिन्छ। 

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा