राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेमाथी बलात्कारको आरोप

काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले आफूमाथि पटक–पटक बलात्कार गरेको पीडित किशोरीले बताएकी छन्। 

पीडित भनिएकी १७ वर्षीया किशोरीले आफूमाथि सन्दीपले काठमाडौंको एक होटलको ३०५ नम्बर कोठामा लगेर पटक–पटक बलात्कार गरेको भन्दै उजुरी दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा एसपी दिनेशराज मैनालीले बताए।

पीडित भनिएकी किशोरीले मंगलबार साँझ प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी हुन्। सन्दीपले ती किशोरीलाई काठमाडौं र भक्तपुर र नगरकोट समेत पुर्‍याएको र फेरि फर्काएर काठमाडौं ल्याई एक होटलमा राखेर बलात्कार गरेको भन्दै पीडित युवतीले प्रहरी समक्ष बयान दिएकी छन्।

पीडित किशोरीको बयान अनुसार भदौ ५ गते राति १२ बजेर ५५ मिनेटमा काठमाडौं महानगरपालिका–९ स्थित एक होटलको ३०५ नम्बर कोठामा राखेर सन्दीपले बलात्कार गरेका हुन्। 

सोही राति १२ बजेर २५ मिनेटमा पनि सन्दीपले आफूलाई बलात्कार गरेको ती किशोरीको भनाइ छ। आफूमाथि बलात्कार भएको भन्दै जाहेरी दिएपछि प्रहरीले पीडित किशोरीको स्वास्थ्य जाँच समेत गराइएसकेको छ।

एकद्वार संकट व्यवस्थापन केन्द्रमा लगेर स्वास्थ्य परीक्षण गराइएको एसपी मैनालीले जानकारी दिए। घटनाबारेमा प्रह्री वृत्त गौशालाका साथै जिल्ला प्रहरी परिसर काठमाडौंले पनि अनुसन्धान अघि बढाएको छ। 

पीडित भनिएकी किशोरी र सन्दीप सामाजिक सञ्जाल ‘स्न्याप च्याट’मार्फत नजिकिएका थिए। स्न्याप च्याटमार्फत चिनजान भएर नजिकिएको केही समयपछि सन्दीपले नै ती किशोरीसँग भेट गर्ने प्रस्ताव राखेर उनलाई लिन गाडी लिएर पुगेको बताइएको छ। आफ्नो कारमा राखेर सन्दीपले ती किशोरीलाई भदौ ५ गते ६ बजेतिर काठमाडौंबाट भक्तपुरतिर लगेको बताइएको छ। 

त्यसपछि उनीहरु नगरकोटसम्म पुगेको पीडित किशोरीले बताएकी छन्। नगरकोटमा सन्दीपले मदिरा सेवन गरेको र त्यहाँबाट फेरि काठमाडौं फर्किएको किशोरीको भनाइ छ। काठमाडौं आइसक्दा रातिको ११ बजिसकेको र होस्टल बन्द हुने भन्दै एक होटलमा कोठा बुक गरेर उनीहरु बसेका थिए। सोही होटलको कोठा नम्बर ३०५ मा सन्दीपले आफूमाथि बलात्कार गरेको पीडित किशोरीको भनाइ छ।

हाल क्यारेवियन प्रिमियर लिग (सिपिएल) खेल्न वेष्ट इन्डिजमा रहेका सन्दीपले  उक्त आरोपबारे अहिले सम्म कुनै प्रतिक्रिया जनाएका छैनन्। 

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा