काठमाडौं – राष्ट्रिय सभा सदस्य विमला राई पौड्यालले संसदीय समितिमा छलफल नभएर नागरिकता विधेयक आउनु संसदीय अभ्यासको गम्भीर बिचलन भएको बताएकी छन् ।
आज (बिहीबार) राष्ट्रिय सभामा नेपाल नागरिकता ऐन पहिलो संशोधन विधेयक २०७९ माथि दफावार छलफलमा भाग लिँदै पौड्यालले प्रतिनिधि सभाको समितिको प्रतिवेदनलाई च्यातेर यो सरकारले बलजफ्ती किसिमले नागरिकता विधेयक ल्याएको बताइन् ।
उनले भनिन्, ‘प्रक्रियामा प्रश्न छ । प्रतिनिधि सभाको समितिको प्रतिवेदनलाई च्यातेर यो सरकारले बलजफ्ती किसिमले विधेयक ल्यायो । यो प्रक्रियामा मेरो प्रश्न छ । प्रतिनिधि सभाले समितिमा पठाएर दफावार छलफल गराइनु पथ्र्यो यति धेरै संवेदनशील विषयमा यति धेरै संशोधन परेको विषयमा यो प्रस्ताव विधायन व्यवस्थापन समितिमा गएर छलफल गरेर आउनु पथ्र्यो ।’
‘समितिमा नगई जसरी पनि हलबाटै पास गर्ने किसिमको प्रावधान आइराखेको छ । राष्ट्रिय सभामा मात्रै चार वटा समिति छन् । यो चाँहिन्छ कि चाँहिँदैन । यति धेरै सभापति राखेर बस्ने की नबस्ने । संसदीय अभ्यासको गम्भिर विचलन हो’, उनले भनिन् ।
