वीरगञ्ज – सत्ता साझेदार जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले पार्टी फुटाउन खोजेकाले कारबाही गरिएको स्पष्ट पारेका छन् ।
वीरगञ्जमा बसेको जसपा केन्द्रीय समितिको बैठकले संघीय परिषद् अध्यक्ष डा. भट्टराईसहित नौ जना नेतालाई कारबाही गर्ने निणर्य गरेको छ । बिहीबार बिहान वीरगञ्जमै आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष यादवले पार्टीको हित विपरीत गतिविधि गरेकाले डा. भट्टराईसहित ९ नेतालाई कारबाही गरिएको बताएका हुन् ।
‘उहाँ (बाबुराम भट्टराई) ले पार्टी विभाजन गर्ने गरी षड्यन्त्र गर्नुभयो’, अध्यक्ष यादवले भने, ‘त्यसैले उहाँलाई पद र जिम्मेवारीबाट मुक्त गरिएको हो ।’ सच्चिएर आए भट्टराईलाई पार्टीमा राख्ने अन्यथा पार्टीमा नफर्काउने अध्यक्ष यादवले स्पष्ट पारेका छन् ।
