चितवन – सत्तारूढ नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले कांग्रेसको प्रतिस्पर्धी केपी शर्मा ओली र नेकपा (एमाले) पार्टी भएको बताएका छन् ।
बिहीबार चितवनको भरतपुर महानगरपालिकामा आयोजित सत्ता गठबन्धनको चुनावी सभामा बोल्दै उनले गठबन्धनको औचित्यका बारेमा प्रष्टाएका हुन् । उनले नेकपा (माओवादी केन्द्र) र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कांग्रेसको प्रतिस्पर्धी नभएको भन्दै एमाले र ओली प्रवृत्ति कांग्रेसको प्रतिस्पर्धी भएको जिकिर गरे ।
‘गठबन्धन नभएको भए पोखराका कृष्णचन्द्र नेपाली पोखरेल कसरी मुख्यमन्त्री बन्थे ? चितवनका बलराम पौडेल कसरी मन्त्री बन्न पाउँथे ? राष्ट्रियसभामा तीन जना सदस्य कसरी जित्न सक्थ्यो कांग्रेसले ?’ उनले प्रश्न गरे । नेता पौडेलले भविष्यमा गठबन्धनकै सरकार बनाउनु पर्ने भएपछि आजैबाट मिलेर स्थानीय सरकार बनाउनु परेको जिकिर पनि गरे ।
