धनगढी – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पहिलो जोड आफ्नै तागतमा निर्वाचन जित्ने गरी तयारी गरेर जानुपर्ने रहेको बताएका छन् । आज (सोमबार) धनगढी विमानस्थलमा पत्रकारसँगको भेटघाटमा उनले तालमेलको सम्भावना भएमा गठबन्धनलाई नै प्राथमिकता दिएर जाने बताए ।
कांग्रेसका शेखर कोइराला समूहलाई लक्षित गर्दै प्रचण्डले पार्टीभित्र विभिन्न टिप्पणी गरे पनि मूल नेतृत्व पंत्ति गठबन्धनलाई लिएर जाने कुरामा द्विविधा नभएको दाबी गरे । ‘तपाईहरुले प्रधानमन्त्रीको केहि दिन अगाडिको वक्तव्य पनि हेरिहाल्नु भयो । गठबन्धनमा असर पर्ने कुनै कुरा नबोल भनेर आफ्नै नेताहरुलाई पनि निर्देशन जारी गर्नु भएको छ’ उनले भने, ‘त्यसो भएको हुनाले अहिले गठबन्धनमा कुनै अफ्ठ्यारो छैन ।’
प्रचण्डले नेपाली कांग्रेसलाई पनि चाँडै सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी गराउने तयारी भइरहेको जानकारी गराए । उनले भने ‘केन्द्रमा भएको सहमति अनुसार तीन ठूला दलले २/२ वटा प्रदेश र जसपालाई एउटा प्रदेश सरकारको नेतृत्व गर्न दिने भनिएको हो ।’
