काठमाडौं – कलाकार तथा नेपाली चलचित्र निर्देशक रेशराज आचार्यको निधन भएको छ । उनको बुधकार साँझ ६ः३० बजेतिर निधन भएको ओम अस्पतालका चिकित्सकले पुष्टि गरेको कलाकार, लेखक तथा निर्देशक मोहन निरौलाले जानकारी दिए ।
बुधबार स्वास्थ्य अवस्था जटिल भएपछि उनलाई चाबहिलस्थित ओम अस्पताल लगिएको र चिकित्सकले हृदयाघातका कारण निधन भएको पुष्टि गरेको निरौलाले बताए । करिब ६२ वर्षको उमेरमा निधन भएको हो ।
उनको बिहीबार बिहान पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । पार्थिव शरीरमा उनकै दाइ कृष्ण आचार्यले दागबत्ती दिएका थिए । निरौलाले भने, ‘हाम्रो ०४० सालदेखि नै चिनजान थियो । ‘घर’, ‘बेचिएको नेपाली’लगायत नाटकहरूमा हामीले सँगै अभिनय गरेका थियौँ । अरू थुप्रै चलचित्रमा पनि सहकार्य गरेका छौं ।’
‘बेहुली’ चलचित्रबाट निर्देशनमा डेब्यु गरेका आचार्यले ‘सम्पत्ति’, ‘आमा’, ‘धर्म संकट’लगायत करिब १५ चलचित्र निर्देशन गरेका थिए । उनी लामो समयदेखि चाबहिलमा बस्दै आएका थिए ।प्रतिक्रिया
