काठमाडौँमा वायु प्रदूषण बढ्यो : १७२ एक्यूआईसहित विश्वकै पाँचौँ प्रदूषित सहरमा सूचीकृत

काठमाडौँ । राजधानी काठमाडौँको वायु गुणस्तर थप खस्किँदै गएको छ। अन्तर्राष्ट्रिय वायु गुणस्तर मापन संस्था आईक्यूएयरको बुधबार बिहानको पछिल्लो मापनअनुसार काठमाडौँ विश्वका सबैभन्दा प्रदूषित सहरहरूको सूचीमा पाँचौँ स्थानमा उक्लिएको हो।

बुधबार बिहान ६ देखि ७ बजेसम्मको अवधिमा काठमाडौँको वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) १७२ रेकर्ड भएको छ। त्यसभन्दा एक घण्टाअघि बिहान ५ देखि ६ बजेको बिचमा १५८ एक्यूआईसहित ११औँ स्थानमा रहेको काठमाडौँमा एकाएक १४ अङ्कले प्रदूषण बढेको हो। वायु गुणस्तरको अन्तर्राष्ट्रिय मापदण्डअनुसार १५१ देखि २०० सम्मको एक्यूआईलाई अस्वस्थकर श्रेणीमा राखिन्छ।

विश्वव्यापी सूचीमा पाकिस्तानको लाहोर २८४ एक्यूआईका साथ पहिलो स्थानमा रहँदा बङ्गलादेशको ढाका २०८ अङ्कसहित दोस्रो स्थानमा छ। त्यस्तै, भारतको कोलकाता १९९ एक्यूआईसहित तेस्रो र नयाँ दिल्ली १८३ एक्यूआईसहित चौथो स्थानमा छन्। काठमाडौँपछाडि क्रमशः उज्बेकिस्तानको तास्कन्द छैटौँ, इन्डोनेसियाको जाकार्ता सातौँ र भारतको मुम्बई आठौँ स्थानमा परेका छन्।

बढ्दो वायु प्रदूषणका कारण उपत्यकावासीको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने भन्दै विज्ञहरूले चिन्ता व्यक्त गरेका छन्। विशेष गरी बालबालिका, वृद्धवृद्धा तथा श्वासप्रश्वास र मुटुसम्बन्धी दीर्घरोगीहरू उच्च जोखिममा रहने भएकाले घरबाहिर निस्किँदा मास्कको अनिवार्य प्रयोग गर्न र आवश्यक सतर्कता अपनाउन स्वास्थ्यकर्मीहरूले सुझाव दिएका छन्।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा