नेकपा एमालेको राष्ट्रिय भेला आजदेखि, अध्यक्ष ओली र वरिष्ठ नेता भण्डारीलगायतले सम्बोधन गर्ने

काठमाडौँ । नेकपा (एमाले) को महत्त्वपूर्ण राष्ट्रिय भेला आज बुधबारदेखि काठमाडौँमा सुरु हुँदैछ। बबरमहलस्थित कार्की ब्यांकेटमा बिहान ११ बजे आयोजना हुने भेलाको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन्। भेलामा सहभागिताका लागि देशभरका विभिन्न तहका नेता तथा जनप्रतिनिधिहरू राजधानी आइपुगेका छन्।

स्थानीय तह निर्वाचनको पूर्वतयारी र वर्तमान राष्ट्रिय राजनीतिलाई ठोस दिशा प्रदान गर्ने उद्देश्यले भेला बोलाइएको उपमहासचिव लेखराज भट्टले जानकारी दिए। मङ्गलबारको स्थायी कमिटी बैठकबाट पारित कार्यसूचीअनुसार असोजमा सम्पन्न केन्द्रीय कमिटीका निर्णयहरूको प्रभावकारी कार्यान्वयन तथा पार्टीले अघि सार्नुपर्ने १५ बुँदे कार्ययोजनामाथि भेलामा विस्तृत बहस हुनेछ।

भेलामा केन्द्रीय कमिटी सदस्यहरू, प्रदेश र जिल्लाका पदाधिकारी, पालिका अध्यक्ष तथा उपाध्यक्ष, जनवर्गीय सङ्गठन र केन्द्रीय निकायका प्रतिनिधिहरूको सहभागिता रहनेछ। साथै सङ्घीय संसद् तथा प्रदेश सभाका सांसदहरू र स्थानीय तहमा निर्वाचित प्रमुख तथा उपप्रमुखहरूलाई समेत भेलामा आमन्त्रण गरिएको छ।

प्रचार विभाग प्रमुख निरज आचार्यका अनुसार उद्घाटन सत्रमा अध्यक्ष ओलीका अतिरिक्त वरिष्ठ नेता विद्यादेवी भण्डारी, उपाध्यक्षहरू रामबहादुर थापा र विष्णु पौडेल तथा महासचिव शङ्कर पोखरेलले विशेष सम्बोधन गर्ने तय भएको छ। यो भेलाले पार्टीलाई तल्लो तहसम्म एकताबद्ध बनाएर आगामी राजनीतिक चुनौतीको सामना गर्न ऊर्जा प्रदान गर्ने अपेक्षा गरिएको छ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा