काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिनकुमार आचार्यले प्रधानमन्त्री र पार्टी सभापतिबिच मतभेद रहेको भनी बाहिर आएका चर्चालाई निराधार बताएका छन्। आइतबार चीन भ्रमणका लागि प्रस्थान गर्ने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले पार्टी र सरकार पूर्ण तालमेलका साथ एउटै गतिमा अघि बढिरहेको स्पष्ट पारेका हुन्।
महामन्त्री आचार्यले प्रधानमन्त्री र रास्वपा सभापतिबीचको सम्बन्धमा कुनै खटपट नरहेको प्रस्ट पार्दै पार्टी र सरकारबीचको आपसी समन्वय अत्यन्तै सौहार्दपूर्ण रहेको जिकिर गरे। उनले सांसदहरूले सदनमा तथ्यपरक विषयहरू उठाउनु स्वाभाविक भएको र त्यसलाई पार्टीभित्रको वा सत्ता साझेदारबिचको द्वन्द्वका रूपमा व्याख्या गर्न नमिल्ने धारणा राखे।
वर्तमान सत्ता सहकार्यप्रति पार्टीको पूर्ण अपनत्व रहेको औँल्याउँदै महामन्त्री आचार्यले जनताप्रति जवाफदेही बन्नका लागि पार्टी र सरकारले एकअर्कालाई रचनात्मक खबरदारी गर्नु सकारात्मक पक्ष भएको बताए। ‘सरकारले बाटो बिराउँदा पार्टीले खबरदारी गर्नु र पार्टीलाई सरकारले सचेत गराउनु लोकतान्त्रिक संस्कृतिको सुन्दर पक्ष हो,’ उनले भने, ‘यसले सरकारलाई थप परिणाममुखी र जनउत्तरदायी बनाउन सहयोग पुर्याउँछ।’
रास्वपाभित्र कुनै पनि आन्तरिक मतभेद वा अन्योल नरहेको स्पष्ट पार्दै उनले आगामी दिनमा सरकारको कामकारबाहीलाई अझ प्रभावकारी बनाउन पार्टी दृढ रहेको बताए। आफ्नो साताव्यापी चीन भ्रमणले दुई मुलुकबिचको जनस्तरको सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गर्दै उनी आइतबार त्यसतर्फ प्रस्थान गरेका छन्।

