भीमफेदीमा १४ जनाको ज्यान जाने गरी भएको दुर्घटना छानबिन गर्न ५ सदस्यीय समिति गठन

काठमाडौँ । मकवानपुरको भीमफेदी–देउराली सडक खण्डस्थित चिसापानी ओरालोमा विद्युतीय (ईभी) हाइस दुर्घटना भई १४ जनाको मृत्यु भएको घटनाको सत्यतथ्य पत्ता लगाउन जिल्ला प्रशासन कार्यालय मकवानपुरले ५ सदस्यीय छानबिन समिति गठन गरेको छ। बिहीबार बिहान भएको उक्त दुर्घटनामा ६ जना यात्रु घाइते भएका छन्, जसमध्ये ३ जनाको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि चितवन र काठमाडौँ रिफर गरिएको छ।

जिल्ला प्रशासन कार्यालयका अनुसार सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठित समितिमा जिल्ला ट्राफिक प्रहरी प्रमुख, नेपाल प्रहरीका प्रहरी निरीक्षक, बागमती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयका प्राविधिक इन्जिनियर र आन्तरिक मामिला तथा कानुन मन्त्रालयका कानुन अधिकृत सदस्य रहेका छन्। समितिलाई घटनाको सम्पूर्ण प्राविधिक, मानवीय तथा सडक पूर्वाधार पक्षको अनुसन्धान गरी ७ दिनभित्र प्रतिवेदन पेस गर्न कार्यादेश दिइएको छ।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले प्रारम्भिक जानकारी अनुसार गाडी र चालक दुवैले पर्याप्त विश्राम नपाएको पाइएको बताएका छन्। राति अबेर काठमाडौँ पुगेको गाडी तुरुन्तै यात्रु लिएर फर्किनु, तीव्र गति, क्षमताभन्दा बढी यात्रु र चालकको अत्यधिक थकान नै दुर्घटनाको मुख्य कारण हुन सक्ने उनले औँल्याए। साथै, व्यवसायीहरूले यात्रुको पहिचान सूची नराख्दा दुर्घटनापछि मृतकहरूको सनाखत गर्न समेत कठिनाइ भएको थियो।

दुर्घटनामा ज्यान गुमाउने अधिकांश सर्लाहीको चक्रघट्टा गाउँपालिकाका बासिन्दा रहेका छन्। भीमफेदी–देउराली वैकल्पिक सडक खण्डमा तीव्र गति र साँघुरो घुम्तीका कारण पटक–पटक दुर्घटना दोहोरिने गरेकाले टाइम कार्ड प्रणालीको कडा कार्यान्वयन र सडक सुरक्षाका आवश्यक पूर्वाधार निर्माणका लागि समितिको प्रतिवेदनका आधारमा थप नीतिगत निर्णय गरिने प्रशासनले स्पष्ट पारेको छ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा