काठमाडौँ । देशको आन्तरिक शान्ति सुरक्षा र सीमा व्यवस्थापनलाई थप सुदृढ बनाउन सरकारले दुई प्रमुख सुरक्षा निकायमा झण्डै चार हजार नयाँ दरबन्दी थप्ने गृहकार्य अन्तिम चरणमा पुर्याएको छ । गृह मन्त्रालयले संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएण्डएम) समितिको अध्ययन प्रतिवेदनका आधारमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा नयाँ दरबन्दी थप गर्न अर्थ मन्त्रालयसँग सहमति मागेको छ । दुवै निकायमा गरी कुल ३ हजार ९६८ नयाँ पद सिर्जना गर्ने प्रस्ताव अगाडि बढाइएको हो ।
प्रस्ताव अनुसार नेपाल प्रहरीमा जनपदतर्फ १ हजार ६६४ र प्राविधिकतर्फ ५३० गरी कुल २ हजार १९४ दरबन्दी थपिनेछ । हाल ७९ हजार ५४१ स्वीकृत दरबन्दी रहेको नेपाल प्रहरीमा यस विस्तारसँगै आवश्यक विभाग, प्राविधिक शाखा र फिल्ड युनिटहरूमा जनशक्ति व्यवस्थापन सहज हुनेछ । यस्तै, सीमा सुरक्षा र औद्योगिक सुरक्षामा सक्रिय सशस्त्र प्रहरी बलतर्फ १ हजार ७७४ दरबन्दी थप्न लागिएको छ । सशस्त्र प्रहरीमा हाल ३७ हजार १५३ जनशक्तिको दरबन्दी कायम छ ।
सुरक्षा चुनौतीको बदलिँदो स्वरूप, प्रविधिको विस्तार र जनशक्तिको चापलाई दृष्टिगत गर्दै मन्त्रिपरिषद्को पूर्वस्वीकृतिमा ओएण्डएम समिति गठन गरिएको थियो । गृह मन्त्रालयका अनुसार अर्थ मन्त्रालयको वित्तीय सहमति जुटेपछि यो प्रस्ताव मन्त्रिपरिषद् बैठकमा निर्णयार्थ प्रस्तुत गरिनेछ । मन्त्रिपरिषद्ले प्रस्ताव स्वीकृत गरेलगत्तै लोकसेवा आयोगमार्फत दुवै सुरक्षा निकायमा नयाँ दरबन्दीका लागि खुला तथा आन्तरिक पदपूर्ति प्रक्रिया अघि बढ्नेछ ।

