आज श्रद्धा र भक्तिपूर्वक ‘गाई तिहार’ मनाइँदै, गौमातालाई लक्ष्मीको प्रतीक मानी पूजाआराधना

काठमाडौँ । नेपालीहरूको महान् सांस्कृतिक पर्व तिहारअन्तर्गत यमपञ्चकको तेस्रो दिन आज घर–आँगनमा पवित्र गाईको पूजाआराधना गरी ‘गाई तिहार’ श्रद्धापूर्वक मनाइँदैछ। सनातन हिन्दु संस्कारमा गाईलाई मातृ रूप मानी ‘गौमाता’का रूपमा पूजनीय स्थान दिइँदै आएको छ।

कात्तिक कृष्ण औँसीका दिन बिहानै गोठ तथा पूजास्थल सफा गरी गाईको शरीर सफा पानीले पुछेर वा नुहाइदिएर पूजा गरिन्छ। गाईको निधारमा अबिर, केशरी र अक्षताको टीका लगाई गलामा सयपत्री फूलका माला पहिर्याइन्छ। पूजापछि गाईलाई हरियो घाँस, पीठो, चोकर, सेलरोटी र गुलिया परिकार अर्पण गरिन्छ।

समृद्धि, आरोग्य र आध्यात्मिक मान्यता

वैदिक शास्त्रहरूमा गाईलाई माता लक्ष्मीको प्रतीक मानिएको छ। गाईको स्पर्श, सेवा र दर्शन मात्रले पनि मानसिक शान्ति र सकारात्मक ऊर्जा प्राप्त हुने धार्मिक विश्वास छ। गाईबाट प्राप्त हुने दूध, घिउ, गोबर र गोमूत्र पवित्र मानिन्छन् र पञ्चगव्यबिना कुनै पनि वैदिक यज्ञ तथा शुभकार्य पूर्ण मानिँदैन।

यसै दिन जनैपूर्णिमामा बाँधिएको डोरो गाईको पुच्छरमा बाँधिदिने मौलिक चलन छ, जसले भवसागर वा वैतरणी नदी पार गराउँछ भन्ने जनविश्वास छ। द्वापर युगमा भगवान् श्रीकृष्णले गाईको सेवा र संरक्षण गरी सुरु गरेको गोपाल संस्कृतिले प्रकृतिको रक्षा र सहअस्तित्वको मार्ग देखाएको छ।

पशुपन्छीप्रतिको कृतज्ञताको पर्व

यमपञ्चकका पाँच दिन मानव र पशुपन्छीबीचको आत्मीय सम्बन्धको उत्सव हो। पहिलो दिन काग, दोस्रो दिन कुकुर र तेस्रो दिन आज गाईको पूजा गरी मानव जातिले पशुपन्छीप्रति कृतज्ञता ज्ञापन गर्दछ। गाईपूजा सम्पन्न गरेपछि आजै साँझ घरघरमा बत्ती बालेर महालक्ष्मीको आराधनासहित दीपावली गर्ने परम्परा छ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा