काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज बिहान ११:०० बजे बस्दैछ। आजको बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममाथिको छलफलले निरन्तरता पाउनेछ। यसअघि बुधबार प्रतिपक्षी दलहरूको अवरोधका कारण नियमित कार्यसूचीमाथि छलफल हुन सकेको थिएन। प्रधानमन्त्री बैठकमा उपस्थित हुनुपर्ने माग राख्दै प्रतिपक्षले सदन अवरुद्ध गरेका थिए। आजको सम्भावित कार्यसूचीअनुसार सांसदहरूले उठाएका जिज्ञासाहरूको प्रधानमन्त्री बालेन शाहले जवाफ दिने कार्यक्रम रहेको छ।
प्रधानमन्त्रीको सम्बोधनलगत्तै आजै नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत गरी पारित गर्ने संसद् सचिवालयको तयारी छ। यही अधिवेशनमा सरकारले आगामी आर्थिक वर्षको वार्षिक बजेटसमेत प्रस्तुत गर्ने कार्यतालिका रहेको छ। नीति तथा कार्यक्रम पारित भएपछि सरकारलाई बजेट निर्माण र प्रस्तुत गर्ने बाटो खुल्नेछ।
यसैबीच, राष्ट्रिय सभाको बैठक पनि आजै बिहान ११:१५ बजे बस्दैछ। राष्ट्रिय सभामा पनि सरकारको नीति तथा कार्यक्रममाथिको छलफललाई निरन्तरता दिने सम्भावित कार्यसूची रहेको छ। संसद्को चालु अधिवेशनलाई बजेट केन्द्रित सत्रका रूपमा लिइएको छ।
