सरकारले निजामती कर्मचारीलाई राजनीतिमा संलग्न भए बर्खास्त गर्ने चेतावनी दिएको छ । सरकारले अध्यादेश मार्फत ऐन ल्याएर कर्मचारीले टे«ड यूनियनमा लागन नपाउने बताएपनि कतिपय कर्मचारी दल निकट देखिएर काम गरेको भन्दै सरकारले यस्तो चेतावनी दिएको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बुधबार सूचना जारी गर्दै निजामती कर्मचारीलाई अनुशासन र आचरणसम्बन्धी व्यवस्था पूर्ण रूपमा पालना गर्न निर्देशन दिएको छ ।
सूचनामा नेपालको संविधान र निजामती सेवा ऐनअनुसार निजामती सेवा राजनीतिक रूपमा तटस्थ, निष्पक्ष र उत्तरदायी हुनुपर्ने उल्लेख गर्दे मन्त्रालयले निजामती सेवा ऐन, २०४९ को अनुसार निजामती कर्मचारीले राजनीतिमा भाग लिएमा भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य ठहरिने गरी सेवाबाट हटाउन सकिने व्यवस्था रहेको चेतावनी दिएको छ । उसले कर्मचारीहरू राजनीतिक दल, भ्रातृ संगठनमा आबद्ध हुन नपाइने पनि जिकिर गरेको छ ।
सूचनामा राजनीतिक गतिविधिमा संलग्न हुने, संगठनको सदस्यता लिने वा निर्वाचनमा उमेदवार बन्ने कर्मचारीलाई सेवाबाट हटाउन सकिने व्यवस्था रहेको मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
