समानुपातिक उम्मेदवारले आजसम्म उम्मेदवारी फिर्ता लिन सक्ने

काठमाडौँ : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारले आज (सोमबार) अपराह्न ४ बजेसम्म उम्मेदवारी फिर्ता लिन सक्नेछन् ।

निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलले पुस १३ र १४ गते पेस गरेको बन्दसूचीमा समावेश उम्मेदवारले स्वीकृत कार्यक्रमअनुसार नाम फिर्ता लिन पाउने छन् ।

आयोगले यस सम्बन्धमा सबै उम्मेदवारलाई जानकारी गराइसकेको निर्वाचन अधिकृत कृष्णबहादुर राउतले बताउनुभयो । समानुपातिक निर्वाचन अधिकृतको कार्यालयमा आज बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म उम्मेदवारी फिर्ता लिन सकिनेछ ।

बन्दसूचीमा नाम समावेश भएका उम्मेदवारले प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०८२ को अनुसूची १८ बमोजिमको ढाँचामा निवेदन दिनुपर्नेछ । कुनै कारणले उम्मेदवार स्वयं उपस्थित हुन नसकेमा वारेसमार्फत पनि निवेदन दिन सकिने आयोगले जनाएको छ ।

२७५ सदस्यीय प्रतिनिधिसभामध्ये १६५ जना प्रत्यक्ष निर्वाचन प्रणालीबाट र ११० जना समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुने व्यवस्था छ

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा