आगामी निर्वाचनमा अन्तर जिल्ला मतदान नहुने

काठमाडौँ : आउँदो प्रतिनिधि सभाको निर्वाचनमा जिल्ला बाहिर रहेका मतदाताले मतदान गर्न नपाउने भएका छन् । निर्वाचन आयोगले निश्चित समूहका लागि मात्रै अस्थायी मतदाता नामावली संकलन गरेकोले सबै मतदाताले अन्तरजिल्ला मतदान गर्न नपाउने भएको हो।

शुक्रबार आयोगले पत्रकार सम्मेलन गरी निर्वाचनको तयारीबारे जानकारी दिएको थियो। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले निर्वाचन तयारी द्रुतगतिमा भइरहेको बताए ।

प्रवक्ता भट्टराईले भने, ‘कानुनी र प्राविधिक पूर्वतयारी गर्नुपर्ने भएकाले यस पटक अन्तरजिल्ला मतदानको व्यवस्था गर्न सकेनौँ।’ विदेशमा रहेका नागरिकलाई पनि मतदानको व्यवस्था गर्नुपर्ने माग उठेको थियो, तर आयोगले यसलाई सम्भव नभएको जनाएको छ।

अस्थायी मतदाता नामावलीमा यस पटक पनि प्रहरी, कर्मचारी, कारागारमा रहेका कैदीबन्दी र वृद्धाश्रममा रहेका ज्येष्ठ नागरिक मात्र समावेश छन्। त्यसैले अन्य नागरिकले जिल्लाबाहिरबाट मतदान गर्न पाउने छैनन्।

निर्वाचन सुरक्षा सम्बन्धमा प्रवक्ता भट्टराईले भने, ‘सुरक्षाकै कारण मतदान गर्न डराउनुपर्ने अवस्था छैन । जिल्ला तहमै एकीकृत सुरक्षा योजना बनाई काम भइरहेको छ।’

सामाजिक सञ्जालमा दुरुपयोग रोक्ने प्रयास भइरहेको पनि उनले जानकारी दिए। ‘हामीले मेटा र टिकटकसँग सम्पर्क गर्‍यौं। दुवै कम्पनीले सकारात्मक जवाफ दिएका छन्। आयोग उनीहरूसँग सम्पर्कमा छ,’ उनले भने।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा