काठमाडौँ : प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दलको गतिविधिमा सक्रिय रहेका तथा आगामी निर्वाचनमा उम्मेदवारी दिने तयारीमा रहेका मन्त्रीहरूलाई पदबाट राजीनामा दिन आग्रह गरेकी छन्।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा अनौपचारिक छलफल गर्दै प्रधानमन्त्री कार्कीले दलीय गतिविधिमा संलग्न भइसकेका मन्त्रीहरूले सरकारलाई सहयोग पुर्याउन राजीनामा दिनुपर्ने धारणा राखेकी हुन्।
बैठकमा सहभागी एक मन्त्रीका अनुसार सरकारले गैरदलीय स्वरूप अपनाएको अवस्थामा मन्त्रीहरूको राजनीतिक सक्रियताले सार्वजनिक रूपमा प्रश्न उठेको विषयलाई प्रधानमन्त्रीले गम्भीरतापूर्वक बुझ्न आग्रह गरेकी थिइन्।
हाल ऊर्जामन्त्री कुलमान घिसिङ र खेलकुदमन्त्री बब्लु गुप्ता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को गतिविधिमा संलग्न रहेका छन्। यस्तै, सञ्चारमन्त्री जगदीश खरेलले पनि आगामी निर्वाचन लड्ने चाहना व्यक्त गर्दै रवि लामिछाने, बालेन शाह र कुलमान घिसिङबीचको एकतालाई समर्थन जनाउँदै आएका छन्।

