विशेष महाधिवेशन सहमतिमा केन्द्रीय समितिले आह्वान गर्नुपर्छ : डा. शेखर कोइराला

काठमाडौँ : नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले विशेष महाधिवेशन सहमतिको आधारमा केन्द्रीय समितिले नै आह्वान गर्नुपर्ने बताएका छन्।

आफ्नो निजी सचिवालयमा भेट्न आएका पार्टीका ३० भन्दा बढी केन्द्रीय सदस्यहरूसँगको छलफलमा उनले विशेष महाधिवेशनका पक्षधरहरूसँग परामर्श गरेर माघ ६ गतेपछि बोलाउँदा उपयुक्त हुने धारणा राखे।

डा. कोइरालाका अनुसार अहिले राष्ट्रिय सभा र प्रतिनिधि सभाका समानुपातिक उम्मेदवार टुङ्ग्याउनुपर्ने भएकाले त्यसपछि मात्रै विशेष महाधिवेशन आह्वान गर्नु व्यवहारिक हुन्छ। यसरी समय मिलाएर बोलाउँदा पार्टीभित्र एकताको सन्देश जाने उनले बताए।

सबै पक्षको मनोभावना समेटिने गरी केन्द्रीय समितिले विशेष महाधिवेशन आह्वान गरेमा सबैलाई स्वीकार्य हुने भन्दै आफू त्यसका लागि निरन्तर प्रयासरत रहेको उनको भनाइ थियो।

अर्को प्रसङ्गमा डा. कोइरालाले प्रतिनिधि सभाको निर्वाचनमा काँग्रेसले गठबन्धन नगर्नुपर्ने स्पष्ट पारे। गठबन्धनबाट प्रत्यक्षतर्फ केही सिट बढे पनि समानुपातिक मत घट्ने र यसले पार्टीलाई दीर्घकालीन रूपमा नोक्सान पुर्‍याउने उनको तर्क छ।

आगामी निर्वाचनमा नेपाली काँग्रेस एक्लै चुनावमा जानुपर्नेमा आफू स्पष्ट रहेको उनले दोहोर्‍याए।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा